उदयपुर,२०८३ भदौ २२ गते।  किशोरीमाथि यौन दुव्र्यवहार, बलात्कार, बालविवाह, घरेलु तथा मानसिक हिंसा र अनलाइन दुव्र्यवहारजस्ता घटना हुने क्रम बढ्दो छ। पितृसत्तात्मक सोच, लैङ्गिक विभेद, महिलालार्ई हेर्ने दृष्टिकोण जस्ता कारणले गर्दा यस्ता घटनाहरु बढिरहेका छन् । पछिल्लो समय डिजिटल प्रविधिको बढ्दो प्रयोगसँगै बालबालिका तथा किशोरीहरू अनलाइन दुव्र्यवहार र शोषणको जोखिममा समेत पर्ने गरेका छन्। यस्ता हिंसा तथा दुव्र्यवहारको जोखिमबाट किशोरीलाई सुरक्षित राख्न र उनीहरूलाई आफ्ना अधिकार, जोखिम तथा सुरक्षाका उपायबारे सचेत बनाउने उद्देश्यले उदयपुरमा ‘पहिलो पाइला’ कार्यक्रम सुरु गरिएको छ।
महिला सशक्तीकरण स्रोत केन्द्र, उदयपुरको आयोजनामा त्रियुगा नगरपालिका ८ र ९ का किशोरीलाई लक्षित गरी ‘पहिलो पाइला’ कार्यक्रम सुरु गरिएको हो। एक महिनासम्म प्रत्येक आइतबार सञ्चालन हुने कार्यक्रममा १० देखि १६ वर्ष उमेर समूहका किशोरीहरु सहभागी हुनेछन्। कार्यक्रममा किशोरावस्था, यससँग जोडिएका जोखिम, बालविवाह, सकारात्मक सोच, डिजिटल सुरक्षा तथा मोबाइल र इन्टरनेटको सुरक्षित प्रयोगलगायतका विषयमा जानकारी गराइनेछ। साथै, बलात्कार, यौन दुव्र्यवहार, यौन शोषण, बालविवाह, घरेलु हिंसा, शारीरिक तथा मानसिक हिंसा, र त्यसबाट बच्ने उपाय तथा सहयोग लिन सकिने निकायबारे पनि जानकारी दिइनेछ । त्यसैगरी किशोरीहरूले आफ्ना समस्या तथा अनुभव खुलेर राख्न, आफ्ना सवाल उठाउन र आफूलाई सुरक्षित राख्ने उपायबारे जानकारी गराईने छ ।
महिला सशक्तीकरण स्रोत केन्द्र, उदयपुरका कार्यकारी निर्देशक बन्दना दनुवारले बालिका तथा किशोरीमाथि हुने हिंसा रोकथामका लागि उनीहरूलाई नै सचेत र सजग बनाउनु आवश्यक रहेको बताउनुभयो। उहाले आगामी कार्यक्रममा किशोरीसँगै किशोरहरूलाई समेत सहभागी गराइने बताउनुभयो। यसैगरी, कार्यक्रम संयोजक सुजाता सुवेदीले किशोरावस्था भनेको के हो र किशोरावस्थामा प्रवेश गर्ने क्रममा किशोरीहरूमा देखिने शारीरिक, मानसिक तथा भावनात्मक परिवर्तनका विषयमा जानकारी गराउनुभएको थियो।कार्यक्रमअन्तर्गत सहभागी किशोरीहरूलाई चारवटा समूहमा विभाजन गरी किशोरीको चित्र बनाउन लगाइएको थियो। समूहगत रूपमा तयार पारिएको चित्रमा किशोरावस्थामा हुने विभिन्न शारीरिक परिवर्तनहरू उल्लेख गरिएको थियो। त्यसपछि प्रत्येक समूहले आफूले तयार पारेको चित्र तथा त्यसमा समेटिएका विषयवस्तुबारे प्रस्तुतीकरण गरेका थिए। त्यस्तै, कार्यक्रममा किशोरावस्थासम्बन्धी किशोरीहरूको पूर्वज्ञान परीक्षणसमेत गरिएको थियो। सहभागीहरूलाई प्रश्नावलीसहितको फाराम भर्न लगाई किशोरावस्थाका विषयमा उनीहरूको प्रारम्भिक ज्ञान र बुझाइ पहिचान गरिएको थियो।