उदयपुर, भदौ ११ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि उदयपुर जिल्लाका ११ जना व्यक्ति परिवार तथा आफन्तको सम्पर्कमा नआएको विवरण सार्वजनिक भएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरबाट सार्वजनिक गरिएको विवरणअनुसार त्रियुगा नगरपालिका, कटारी नगरपालिका, लिम्चुङबुङ गाउँपालिका र उदयपुरगढी गाउँपालिकाका गरी ११ जना बाढीपछि सम्पर्कविहीन भएका हुन्।
सम्पर्कविहीन हुनेमा त्रियुगा नगरपालिका–१४ बाजगरा का १८ वर्षीय भेषराज माझी, २० वर्षीय मिलन माझी र ३२ वर्षीय चन्द्रबहादुर माझी रहेका छन्। यस्तै कटारी नगरपालिका–५ सोक्लाहाका २० वर्षीय बुद्धिमान नेपाली, लिम्चुङबुङ गाउँपालिका–४ बलन्ताका २४ वर्षीय सुमन समीर राई, त्रियुगा नगरपालिका–८ लाइनटोलका ४२ वर्षीय देवेन्द्र घिमिरे र त्रियुगा नगरपालिका–७ चकलघाटका ४० वर्षीय धुर्व बस्तेत रहेका छन्।
त्यसैगरी उदयपुरगढी गाउँपालिका–७ तिरिबासका ३१ वर्षीय अरुण मगर, त्रियुगा नगरपालिका–१० बोक्सेका २३ वर्षीया मनिका विश्वकर्मा र ५ वर्षीय रियाज विश्वकर्मा तथा त्रियुगा नगरपालिका–१ रुपनीका २७ वर्षीय बालकुमार राई सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ। रसुवामा भदौ १० गते आएको भोटेकोशी बाढीले ठूलो जनधनको क्षति पु¥याएको छ। बाढीपछि विभिन्न जिल्लाका नागरिक तथा सुरक्षाकर्मीसमेत सम्पर्कविहीन भएका छन् र खोज तथा उद्धार कार्य जारी रहेको छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरको विवरणअनुसार सम्पर्कविहीन व्यक्तिहरूको खोजी तथा उनीहरूको अवस्थाबारे जानकारी लिने प्रयास भइरहेको छ। परिवार तथा आफन्तले सम्बन्धित व्यक्तिबारे कुनै जानकारी प्राप्त गरे नजिकको प्रहरी कार्यालय वा सम्बन्धित परिवारलाई खबर गर्न आग्रह गरिएको छ।


