उदयपुर,४ असोज । उदयपुरको चौदण्डीगढी नगरपालिका–२ डाँडागाउँमा हँसिया प्रहारबाट एक महिलाको मृत्यु भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृतकका श्रीमानलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार गए राति करिब १२ः३० बजे ५८ वर्षीय गन्दु राम राईले मादक पदार्थ सेवन गरी घरायसी विवादका क्रममा आफ्नै ४५ वर्षीया श्रीमती बिमला राईमाथि हँसिया प्रहार गरेका थिए। हँसिया प्रहारबाट बिमलाको घाँटीमा गम्भीर चोट लागेको थियो। घटनापछि गन्दु राम आफैँ अस्थायी प्रहरी चौकी माडिबासमा पुगेर घटनाबारे जानकारी गराएका थिए। प्रहरीले उनलाई तत्काल नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बेल्टारको हिरासतमा राखेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईंले जानकारी दिए । यसैबीच, अस्थायी प्रहरी चौकी माडिबासबाट खटिएको प्रहरी टोलीले घाइते बिमलाको उद्धार गरी उपचारका लागि नगर अस्पताल बेल्टार पु¥याएको थियो। तर, चिकित्सकले उनलाई राति १ः१५ बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।






