उदयपुर,१ असोज ।  महिला सशक्तीकरण स्रोत केन्द्रको सामाजिक परीक्षण तथा १८औँ वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै कोशी प्रदेशका उपसभामुख माननीय सिर्जना दनुवारले किशोरी, युवा महिला तथा बालबालिकाका सवालमा निरन्तर काम गर्दै आएको महिला सशक्तीकरण स्रोत केन्द्र युवा पुस्ताको नेतृत्वमा अघि बढ्न सफल भएको बताउनु भयो।
उहाँले संस्थाको १८ वर्षे यात्रामा विभिन्न पदमा रहेका क्तिहरूको मात्र नभई संस्थासँग जोडिएका सदस्य तथा आमाहरूको संघर्ष, साथ र योगदान पनि महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले संस्थाका अभियान तथा गतिविधिलाई आगामी दिनमा थप प्रभावकारी रूपमा अघि बढाउन सबै पक्षको सहकार्य, साथ र सहयोग आवश्यक रहेको  बताउनुभयो। यसै क्रममा उपसभामुख दनुवारले महिला सशक्तीकरण स्रोत केन्द्रको भवन निर्माणका लागि कोशी प्रदेश सरकारले १० लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा कोशी प्रदेश सभा सदस्य माननीय सम्झना तामाङले शुभकामना मन्तव्य राख्दै संस्थाले विभिन्न कार्यक्रममार्फत किशोरी, युवा, महिला तथा बालबालिकासँग काम गर्दै आएकाले उनीहरूलाई राज्यको संरचना, अधिकार तथा जिम्मेवारीका विषयमा पनि जानकारी गराउन आवश्यक रहेकोे बताउनुभयो।

कार्यक्रममा ओरेक नेपालका अध्यक्ष सबिता पोखरेलले संस्थाको सामाजिक परीक्षण तथा प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। सामाजिक परीक्षणमा संस्थाले एक वर्षको अवधिमा सञ्चालन गरेका विभिन्न कार्यक्रम तथा गतिविधि, हासिल गरेका उपलब्धि, सिकाइ र चुनौतीका साथै संस्थाका कामको प्रभाव तथा आगामी दिनमा गर्नुपर्ने काम, सुधारका पक्ष र प्राथमिकताबारे समीक्षा गरिएको थियो। सहभागीहरूले संस्थाका आगामी कार्यक्रमलाई थप प्रभावकारी बनाउन विभिन्न सुझावसमेत दिएका थिए। यस्तै, साधारणसभामा संस्थाको वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरी छलफल गरिएको थियो। छलफलपछि दुवै प्रतिवेदन साधारणसभाबाट पारित गरिएको थियो। त्यस्तै, महिला सशक्तीकरण स्रोत केन्द्रका कार्यकारी निर्देशक बन्दना दनुवारले आर्थिक वर्ष २०८३÷०८४ को कार्ययोजना प्रस्तुत गर्नुभएको थियो। कार्ययोजना अन्तर्गत महिला तथा किशोरी सम्बन्धी ज्ञान निर्माण र डिजिटलाइजेसनलाई प्राथमिकता दिने, रूपान्तरित नेतृत्वका लागि २० जना युवा महिला नेतृ तयार गर्ने तथा संस्थाको भवन निर्माणको काम सम्पन्न गर्ने , रेडियोमा उत्पादन तथा प्रसारण गरिएका कथा तथा सामग्रीलाई डिजिटलाइजेसन गर्ने, त्रैमासिक रूपमा ई–बुलेटिन प्रकाशन गर्ने र त्यसैगरी डिजिट सुरक्षा अभियानलाई निरन्तरता दिने योजना रहेको बताउनुभयो।
संस्थाले समुदायस्तरमा सडक नाटकमार्फत सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी तथा बालविवाह न्यूनीकरणका लागि विभिन्न टोल र विद्यालयमा सञ्चालन हुँदै आएका कार्यक्रमलाई निरन्तरता दिने , यौन हिंसा तथा दुव्र्यवहारको जोखिमबाट किशोरीहरूलाई सुरक्षित राख्ने र उनीहरूलाई आफ्ना अधिकार, सम्भावित जोखिम तथा सुरक्षाका उपायबारे सचेत बनाउने उद्देश्यले सस्थाले ‘पहिलो पाइला’ कार्यक्रमलाई समेत निरन्तरता दिने कार्यकारी निर्देशक दनुवारले बताउनुभयो।
त्यस्तै, त्रियुगा नगरपालिकाको महिला तथा बालबालिका शाखाका भिमा राईले संस्थाले बालबालिका तथा किशोरीसँग गर्दै आएको कामलाई स्थानीय सरकारसँग थप समन्वय र सहकार्य गर्दै अघि बढाउन सके अझ प्रभावकारी हुने बताउनुभयो। उहाँले विभिन्न टोल विकास संस्था तथा विद्यालयसँग सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिनुभयो। किशोरी तथा बालबालिकाका समूहलाई व्यवस्थित रूपमा दर्ता गरी संस्थागत रूपमा अघि बढाउन सके अझ प्रभावकारी हुने उहाँको भनाइ थियो।
सहभागीहरूले आगामी दिनमा जलवायु परिवर्तनका विषयलाई पनि संस्थाका कार्यक्रमसँग जोडेर किशोरी तथा युवा महिलालाई जानकारी र सचेतना प्रदान गर्नुपर्ने सुझाव दिएका थिए। कार्यक्रम महिला सशक्तीकरण स्रोत केन्द्रका अध्यक्ष ज्योति दनुवारको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, स्थानीय नागरिक, संस्थाका साधारण सदस्य, महिला तथा किशोरी समूहका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो।