उदयपुर । उदयपुरगढी गाउँपालिका–७ अधेरीमा ट्रक र हायस एकआपसमा ठोक्किँदा १७ जना घाइते भएका छन्।
बुधबार बिहान करिब १० बजे कटारीबाट गाईघाटतर्फ आउँदै गरेको ना.७ ख ३९९१ नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको बा.४ ख ५६३५ नम्बरको हायस एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी पोष्ट संगमचोक तथा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी निरीक्षक विपेश कुमार देवको कमाण्डमा १५ जनाको प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले घाइतेहरूको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल उदयपुर पठाएको जनाएको छ।
दुर्घटनामा हायसमा सवार चालक तथा सहचालकसहित १७ जना घाइते भएका छन्। घाइतेमध्ये १० जनालाई थप उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल रिफर गरिएको छ भने बाँकी घाइतेहरूको जिल्ला अस्पताल उदयपुरमै उपचार भइरहेको प्रहरीले जनाएको छ।
विराटनगर रिफर हुनेहरूमा काठमाडौं चन्द्रागिरी–१४ की इन्दिरा श्रेष्ठ, सोही स्थानका रुकमाया श्रेष्ठ र पविना श्रेष्ठ, मोरङ कानेपोखरी–६ का हायस सहचालक देवराज विक र चालक रामबहादुर विक, मोरङ सुन्दरहरैँचा–६ की जमुना राई र एदुचन्द्र राई, उदयपुर बेलका–६ का डम्बरबहादुर विक, बेलका–६ कै सुदीप राई तथा काठमाडौं बूढानीलकण्ठ–५ की शान्ति न्यारिका रहेका छन्।
घाइतेमध्ये केहीको अवस्था मध्यम र केहीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न ट्रक चालक रत्नबहादुर तामाङ प्रहरीको नियन्त्रणमा रहेका छन्। दुर्घटनाको कारणबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यलयले उदयपुरले जनाएको छ ।






