उदयपुर, २०८३ भदौ १८ गते। उदयपुरको चौदण्डीगढी नगरपालिकाबाट प्रतिबन्धित लागुऔषध, मोटरसाइकल तथा संरक्षित वन्यजन्तु सालकको अखेटोपहार जस्तो देखिने वस्तुसहित दुई जना पक्राउ परेका छन्। गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले चौदण्डीगढी नगरपालिका–३ आम्सालस्थित सावन राईको घरमा खानतलासी गर्दा सावन राई, २६ वर्ष, र चौदण्डीगढी नगरपालिका–६ का शुभ राई, २७ वर्षलाई पक्राउ गरेको हो प्रहरीका अनुसार उनीहरूको साथबाट ट्रामाडोल लेखिएको १४६ पत्तामा १ हजार ४ सय ५४ क्याप्सुल, ट्रामाडोल एन्ड डाइसाइक्लोमिन लेखिएको १४६ पत्तामा १ हजार ४ सय ५४ ट्याब्लेट, एउटा मोटरसाइकल तथा सालकको अखेटोपहार जस्तो देखिने एउटा वस्तु बरामद गरिएको छ। पक्राउ परेका दुवै जनालाई उदयपुर जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






