उदयपुर । उदयपुरमा तीन महिनाको अवधिमा ५३ वटा लैङ्गिक हिंसाका घटना अभिलेखीकरण भएका छन्। महिला पुनस्र्थापना केन्द्र (ओरेक), उदयपुरले अप्रिलदेखि जुन २०२६ सम्म संकलन गरेका घटनाको त्रैमासिक विश्लेषणमा कुल घटनामध्ये ८३ दशमलव ०२ प्रतिशत घरेलु हिंसाका घटना रहेको पाइएको हो।
ओरेकको उदयपुर कार्यालयमा प्रत्यक्ष रूपमा आएका, सुरक्षा आवासबाट सेवा लिएका महिला तथा किशोरी र समुदाय तथा फिल्डस्तरबाट प्राप्त घटनालाई आधार बनाएर गरिएको विश्लेषणअनुसार ५३ घटनामध्ये ४४ वटा घरेलु हिंसा, ६ वटा यौन हिंसा र ३ वटा सामाजिक हिंसाका घटना रहेका छन्। कुल घटनामध्ये घरेलु हिंसा ८३ दशमलव ०२ प्रतिशत, यौन हिंसा ११ दशमलव ३२ प्रतिशत र सामाजिक हिंसा ५ दशमलव ६६ प्रतिशत रहेको ओरेक उदयपुरका संयोजक बाला कार्कीले बताउनु भयो ।
उहाका अनुसार घरेलु हिंसाअन्तर्गत शारीरिक हिंसा, गालीगलौज, चरित्रमाथि आरोप, धम्की तथा मानसिक हिंसा र स्रोत–सुविधाबाट वञ्चितीकरणजस्ता घटना रहेका छन्। यसले महिलामाथि हुने हिंसा शारीरिक आक्रमणमा मात्र सीमित नभई महिलाको स्वायत्तता, निर्णय क्षमता, आत्मसम्मान र अधिकारमाथि नियन्त्रण गर्ने विभिन्न स्वरूपमा भइरहेको देखाएको ओरेकको विश्लेषण छ।
महिलालाई नै हिंसाको जिम्मेवार ठहराउने प्रवृत्ति, हिंसा सार्वजनिक गर्दा परिवार तथा समाजबाट हुने लाञ्छना, सामाजिक प्रतिष्ठाको दबाब र हिंसा सहन बाध्य बनाउने पितृसत्तात्मक सोचका कारण धेरै घटना अझै पनि घरभित्रै दबिएका छन्। ओरेकको अभिलेखमा देखिएका गालीगलौज, कुटपिट, धम्की, चरित्रमाथि आरोप, आवागमनमा नियन्त्रण तथा स्रोत–सुविधाबाट वञ्चितीकरणले महिलामाथिको हिंसा परिवारभित्रको असमान शक्ति सम्बन्धसँग जोडिएको देखाउने ओरेकले जनाएको छ।
हिंसालाई सामान्य बनाउने सामाजिक मान्यता, परिवारको ‘इज्जत’ जोगाउने नाममा मौनता थोपर्ने प्रवृत्ति, आर्थिक निर्भरता र स्रोतमा असमान पहुँचले हिंसाको चक्रलाई थप बलियो बनाउने गरेको ओरेकको विश्लेषण छ।
विश्व स्वास्थ्य संगठनले पनि लैङ्गिक असमानतालाई महिलामाथि हुने हिंसाको मूल कारणका रूपमा पहिचान गर्दै महिलाको स्वायत्तता सीमित गर्ने, पुरुषको प्रभुत्व तथा नियन्त्रणलाई सामान्य बनाउने र असमान लैङ्गिक भूमिकालाई कायम राख्ने हानिकारक सामाजिक मान्यतालाई हिंसाका महत्वपूर्ण सामाजिक तथा संरचनागत कारकका रूपमा औँल्याएको छ।
त्यसैले लैङ्गिक हिंसा न्यूनीकरणका लागि हिंसा भइसकेपछि प्रतिक्रियामा सीमित नभई हिंसाको मूल कारणका रूपमा रहेको पितृसत्तात्मक सामाजिक संरचना, असमान शक्ति सम्बन्ध र महिलालाई हेर्ने विभेदकारी दृष्टिकोणमा परिवर्तन आवश्यक रहेको ओरेकले जनाएको छ।
महिला तथा किशोरीको अधिकार, सम्मान, समानता र न्याय सुनिश्चित गर्ने उद्देश्यले ओरेकले विभिन्न सामुदायिक संस्था, महिला समूह, युवा तथा किशोरी समूह र समान उद्देश्य भएका संघ–संस्थासँगको समन्वयमा हिंसाका घटनाको अभिलेखीकरण, विश्लेषण, सेवा तथा सार्वजनिक पैरवी गर्दै आएको जनाएको छ।


