Wednesday, August 26, 2026
HomeUncategorized८१ दिने गार्मेन्ट तालिम सम्पन्न, महिलाको आर्थिक सशक्तीकरणमा जोड

८१ दिने गार्मेन्ट तालिम सम्पन्न, महिलाको आर्थिक सशक्तीकरणमा जोड

उदयपुर,२०८३ जेठ १ । महिला पुनस्र्थापना केन्द्र (ओरेक) उदयपुर को आयोजनामा ८१ दिने गार्मेन्ट तालिम सम्पन्न भएको छ । कार्यक्रम UNFPA को आर्थिक तथा प्राविधिक सहयोग तथा त्रियुगा नगरपालिका को समन्वय सहकार्यमा सञ्चालन गरिएको हो । “लैङ्गिक हिंसा प्रतिकार्य तथा रोजगारीबीचको सुदृढीकरण कार्यक्रम” अन्तर्गत सञ्चालन गरिएको तालिमको समापन वैशाख ३१ गते बिहिबार नगर प्रमुख बसन्तकुमार बस्नेतको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा ८१ दिने गार्मेन्ट तालिम तथा ६५ दिने मन्टेश्वरी तालिममा सहभागी महिलाहरूको सहभागिता रहेको थियो । सहभागीहरूले तालिमबाट सिकेको सीपलाई व्यवस्थित र दिगो जीविकोपार्जनसँग जोड्न पाउनुपर्ने बताएका छन् । उनीहरूले सीपको निरन्तर प्रयोग र रोजगारीका अवसरका लागि स्थानीय सरकारले थप सहयोग गर्नुपर्ने माग गरेका थिए । ओरेक उदयपुरका संयोजक बाला कार्कीले सिमान्तकृत महिला तथा किशोरीहरूको दिगो आर्थिक सशक्तीकरण गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको बताउनुभयो । उहाँका अनुसार सुरक्षित वातावरणमा सम्मानजनक रोजगारीको अवसर सिर्जना गर्न सार्वजनिक–निजी साझेदारी अवधारणाअन्तर्गत रोजगारमुखी गार्मेन्ट तालिम आयोजना गरिएको हो । गार्मेन्ट सञ्चालक ज्ञानु प्रधानले तालिम लिएका मध्ये तत्काल १० जनालाई रोजगारी दिन सकिने जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख बसन्तकुमार बस्नेतले आर्थिक रूपमा पछाडि परेका तथा हिंसामा परेका महिलालाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । उहाँले सीपमूलक तालिम, मनोविमर्श तथा कानुनी परामर्शजस्ता कार्यक्रमले महिलामाथि हुने हिंसा न्यूनीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
नगर प्रमुख बस्नेतले त्रियुगा नगरपालिकाभित्र कुनै एक वडालाई हिंसामुक्त वडा घोषणा गर्ने योजना रहेको उल्लेख गर्दै उक्त अभियान सफल बनाउन आयोजक संस्थासँग प्राविधिक सहयोग र सहकार्यको अपेक्षा रहेको बताउनुभयो । कार्यक्रममा नगर उपप्रमुख महेश्वरी राई, प्रमुख प्रशासकीय अधिकृत कुमार प्रसाद कोइराला, UNFPA का प्रोग्राम एनालिस्ट समिरराज घिमिरे, नेपाल पत्रकार महासंघ उदयपुर शाखा अध्यक्ष भक्तिविलास पोखरेल तथा कोसेली गार्मेन्टका सञ्चालक ज्ञानु प्रधान लगायतको उपस्थिति रहेको थियो ।

radioudayapur
ग्रामिण महिलाको नेतृत्वमा संचालित सामुदायिक रेडियो उदयपुर
RELATED ARTICLES
- Advertisment -
Google search engine

Most Popular