उदयपुर,२०८३ बैशाख ८ गते मंगलबार । उदयपुरको चौदण्डीगढी नगरपालिका–७, बेल्टार बजारमा गएराति आगलागी हुँदा जलेर दुई जनाको मृत्यु भएको छ । आगलागीमा दुई घर जलेर पूर्ण रूपमा नष्ट भएका छन् । प्रारम्भिक अनुसन्धान अनुसार विद्युत् सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ। आगलागीबाट स्थानीय लक्ष्मी खड्का र रविन कुमार दासको घर पूर्ण रूपमा ध्वस्त भएका छन्। लक्ष्मी खड्काको घरमा पुस्तक पसलको गोदाम समेत रहेकाले ठूलो आर्थिक क्षति भएको अनुमान गरिएको छ। आगो नियन्त्रणका लागि चौदण्डीगढी नगरपालिका, त्रियुगा नगरपालिका, रौतामाई गाउँपालिका तथा मधेश प्रदेशअन्तर्गत सप्तरीको कञ्चनरूप नगरपालिकाबाट दमकल परिचालन गरिएको थियो। नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी तथा स्थानीयवासीको सक्रिय सहयोगमा करिब तीन घण्टापछि आगो नियन्त्रणमा ल्याइएको हो। घटनास्थलमा दुई जनाको कंकाल फेला परेको र उनीहरूको पहिचान खुल्न बाँकी रहेको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ। परिवारका अनुसार लक्ष्मी खड्का र पवन खड्का हालसम्म सम्पर्कमा नरहेकाले फेला परेका कंकाल उनीहरुकै हुन सक्ने अनुमान गरिएको छ। प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ भने क्षतिको विस्तृत विवरण संकलन कार्य जारी रहेको छ ।





