बराहक्षेत्र नगर सप्तकोसीको उच्च जोखिममा, मेयर खनालद्वारा कोशी नदीको अवलोकन

0
356

 प्रदीप जस्मैत चौधरी,वराहक्षेत्र । वराहक्षेत्र नगरपालिकाका नगर प्रमुख निलम खनालले सप्तकोशी नदीको स्थलगत अनुगमन गरेका छन् ।
वराहक्षेत्र नगरपालिकाको ११ वटा वडा मध्ये वडा नं. ३, ४ र ५ बाहेक सबै वडा सप्तकोशी नदीको उच्च जोखिममा छन् ।

सोमबार सुनसरीका प्रहरी प्रमुख र प्रहरी अधिकृतहरुले समेत कोशी नदीको अवस्था बारे स्थलगत अवलोकन गरेका छन् । भारतीय जल संशाधन विभागका कर्मचारीहरु समेत अनुगमनका क्रममा उपस्थित रहेको बराहक्षेत्र नगरपालिका प्रेस संयोजक नवराज विष्टले बताए ।
सोमबार बिहान ९ बजेसम्म सप्तकोशी नदीको वहाव ३ लाख ४४ हजार ९ सय ९० क्युसेक पुगेको कोशी ब्यारेजस्थित कन्ट्रोल रुमले जानकारी दिएको छ ।

वराहक्षेत्र नगरपालिकाका नगर प्रमुख निलम खनालले कोशी नदी किनारमा बसोबास गरिरहेका स्थानीय तथा खहरे खोला आसपासका बस्तीवासीहरुलाई सतर्कताका साथ रहन अनुरोध गरेका छन् । सप्तकोशी नदीमा काठ, दाउरा निकाल्नेहरुको भीड देखिएकाले दुर्घटना हुने सम्भावनालाई मध्यनजर गर्दै प्रहरी प्रशासनलाई सो कार्य रोक्न निर्देशन दिएका छन् ।
यस्तै
वराहक्षेत्र ४ स्थित आन्द्रमोठमा सुनसरी खोलाले कटान गर्दा बाढी कृषकको खेतबारीमा पसेको छ । स्थानीयको धान खेतीमा बाढी पसेपछि समस्या उत्पन्न भएको वडा नम्बर ४ का वडाध्यक्ष आशाराम चौधरीले जानकारी दिए ।
नगर प्रमुख निलम खनालले सुनसरी खोलाको वितण्डाको स्थलगत अवलोकन गरेका छन् । उनले बाढीपीडित स्थानीयलाई सतर्कता अपनाउन अनुरोध गरेका छन् । बाढी नियन्त्रणका लागि नगरले आवश्यक नीति निर्माण चाडै नै गर्ने खनालले बताए ।