उदयपुर, ८ कात्तिक २०८३ । उदयपुरको त्रियुगा नगरपालिका–११ संगम टोलस्थित इनार चोकमा स्कुटरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। जिलला प्रहरी कार्यलय उदयपुरका अनुसार इनार चोकबाट पिपलचोकतर्फ आउँदै गरेको प्रदेश ३–०२–०१२ प ४८२२ नम्बरको स्कुटरले स्थानीय ५२ वर्षीय रामबहादुर कार्कीलाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएका कार्कीलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्। उनको शव अस्पतालको शवगृहमा राखिएको छ। दुर्घटनामा संलग्न स्कुटर चालक त्रियुगा नगरपालिका–११ ढिम्कीका २३ वर्षीय दिलिप केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।