उदयपुर, असोज ३० । राजनीतिमा महिलाको सहभागिता बढाउन, नेतृत्व विकास गर्न र राजनीतिक क्षेत्रमा महिलाले भोगिरहेका समस्या तथा चुनौतीबारे छलफल गर्न उदयपुरमा विशेष संवाद कार्यक्रम आयोजना गरिएको छ । महिला सशक्तीकरण स्रोत केन्द्र, उदयपुरको आयोजनामा त्रियुगा नगरपालिका ८ राजाबासस्थित ओरेक आधारमा आयोजित ‘राजनीतिमा महिला नेतृत्व : अनुभव र सम्भावना’ विषयक कार्यक्रममा त्रियुगा नगरपालिका भित्रका महिला वडा सदस्य तथा युवा महिला सञ्जालका किशोरीहरूको सहभागिता रहेको थियो।
यस्ता कार्यक्रमले किशोरी तथा युवा महिलालाई नेतृत्वमा अघि बढ्न प्रेरित गर्नुका साथै राजनीतिमा महिलाको सक्रिय सहभागिता बढाउन सहयोग पुग्ने महिला सशक्तीकरण स्रोत केन्द्रका कार्यकारी निर्देशक बन्दना दनुवारले बताउनुभयो।
कार्यक्रममा महिला जनप्रतिनिधिहरूले आफ्नो कार्यकालमा गरेका काम, सिकाइ, अनुभव तथा काम गर्ने क्रममा भोग्नुपरेका समस्या र चुनौतीबारे अनुभव सुनाएका थिए।
महिला जनप्रतिनिधिहरूले अदालतसम्म पुगेका कतिपय विवादसमेत वडामै फर्किएर समाधान गरेको अनुभव सुनाएका थिए। उनीहरूले महिलाको हकअधिकारका लागि आवाज उठाउने, उद्यमशीलताका लागि तालिम सञ्चालन, पारिवारिक विवाद समाधान गर्ने, विकास निर्माणका कामको अनुगमन गर्ने तथा दलित र विपन्न परिवार,ज्येष्ठ नागरिक तथा बालबालिकाका लागि बजेट विनियोजन गर्न पहल गरेको अनुभवहरु सुनाएका थिए।
महिला जनप्रतिनिधिहरूले पितृसत्तात्मक सोच, महिलाले काम गर्न सक्दैनन् भन्ने धारणा, बजेट विनियोजनमा हुने कठिनाइ र कामको जस नपाउनेजस्ता चुनौती भोग्नुपरेको बताएका थिए। महिला जनप्रतिनिधिहरूले काम गर्दा हरेक विषय बुझेर आवश्यक प्रक्रिया पूरा गर्नुपर्ने सिकाइ सुनाउँदै आगामी दिनमा पनि राजनीतिलाई निरन्तरता दिने बताएका थिए।उनीहरूले अवसर पाए वडाध्यक्षसम्मको जिम्मेवारीमा पुगेर काम गर्ने चाहनासमेत व्यक्त गरेका थिए।
कार्यक्रममा सहभागी किशोरीहरूले स्थानीय तहबाट प्राप्त हुने सेवा, सुविधा तथा अवसरबारे जानकारी नपाउने गरेको गुनासो गरेका थिए। उनीहरूले नागरिकलाई आवश्यक सूचना सहज रूपमा उपलब्ध गराउने व्यवस्था प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए।
महिला जनप्रतिनिधि र किशोरीहरूबीच अनुभव तथा जिज्ञासा आदानप्रदान गर्दै आयोजित कार्यक्रमले महिला नेतृत्व विकास, राजनीतिक सहभागिता र स्थानीय तहमा महिलाको अर्थपूर्ण प्रतिनिधित्वका विषयमा छलफल गर्ने अवसर प्रदान गरेको छ।






