उदयपुर, २०८३ असोज ८ । उदयपुरमा शुक्रबारदेखि आइतबारसम्म निरन्तर वर्षा हुनसक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

नेपाल मौसम विज्ञान विभागले असोज ५ गते जारी गरेको विशेष मौसमी बुलेटिनअनुसार बंगालको खाडीको मध्यपूर्वी भाग आसपास विकसित न्यून चापीय प्रणाली थप शक्तिशाली बन्दै उत्तरपश्चिम दिशातर्फ सर्ने क्रममा रहेको छ। उक्त मौसमी प्रणालीको प्रभावले असोज ९ गते शुक्रबारदेखि ११ गते आइतबारसम्म देशका विभिन्न स्थानमा ठूलो वर्षा हुने सम्भावना रहेको प्रशासनले जनाएको छ।

उदयपुरका केही तथा धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुनसक्ने भएकाले भूक्षय, बाढी, पहिरो तथा नदीमा पानीको बहाव बढ्ने जोखिम रहेको प्रशासनले जनाएको छ। वर्षाका कारण नदी, खोला तथा खोल्सामा पानीको सतह बढ्न सक्ने र सडक, यातायात, कृषि तथा दैनिक जनजीवन प्रभावित हुनसक्ने भन्दै नदी तथा खोला किनार, पहिरोको जोखिम भएका भिराला भूभाग र डुबान हुनसक्ने क्षेत्रमा विशेष सावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ।

जोखिमको संकेत देखिएमा समयमै सुरक्षित स्थानमा जान, अति आवश्यक अवस्थाबाहेक लामो दूरी तथा रातिको समयमा यात्रा नगर्न र बालबालिका, ज्येष्ठ नागरिक, अपाङता भएका व्यक्ति, गर्भवती तथा बिरामीको सुरक्षामा विशेष ध्यान दिनसमेत प्रशासनले अनुरोध गरेको छ। यसैबीच, निरन्तर वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने भन्दै उदयपुर सदरमुकाम गाईघाटमा सशस्त्र प्रहरीले माइकिङमार्फत स्थानीय बासिन्दालाई सचेत र सतर्क रहन आग्रह गरेको छ।

सशस्त्र प्रहरीले बरुवा खोला र त्रियुगा नदी आसपासका बस्तीमा पुगेर नदी तथा खोलाको सतह बढ्न सक्ने भएकाले बालबालिका तथा परिवारका सदस्यलाई सुरक्षित राख्न, नदीखोला किनारमा नजान र जोखिमको अवस्था देखिएमा तत्काल सुरक्षित स्थानमा जान आग्रह गरेको हो। स्थानीय बासिन्दालाई मौसम तथा बाढीसम्बन्धी आधिकारिक सूचना नियमित रुपमा लिन र आवश्यक परे सुरक्षा निकायसँग सम्पर्क गर्नसमेत अनुरोध गरिएको छ।

आपत्कालीन अवस्थामा वर्षा तथा बाढीसम्बन्धी जानकारीका लागि ११५५, नेपाल प्रहरी १००, सशस्त्र प्रहरी बल १११४ तथा जिल्ला आपत्कालीन केन्द्र ९३२६ मा सम्पर्क गर्न सकिने जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ।