उदयपुर, २०८३ असोज ६ । उदयपुर प्रहरीले जिल्लाका दुई छुट्टाछुट्टै स्थानबाट ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ। प्रहरीले कटारीबाट १ सय ८२ किलो गाँजा तथा बेलकाबाट ब्राउनसुगर जस्तो देखिने पदार्थसहित ठूलो परिमाणमा लागुऔषधका ट्याब्लेट र क्याप्सुल बरामद गरेको हो।
इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा मंगलबार राति कटारी नगरपालिका–६ स्थित भुसुने जंगलमा खोजतलास गर्ने क्रममा झाडीमा लुकाएर राखिएको अवस्थामा ९ वटा बोरामा रहेको १ सय ८२ किलो गाँजा बरामद गरेको हो। प्रहरीका अनुसार गाँजा बेवारिसे अवस्थामा फेला परेको थियो। बरामद गाँजा कसले लुकाएर राखेको भन्ने विषयमा अनुसन्धान भइरहेको र संलग्न व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।
यस्तै, इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले बेलका नगरपालिका–४ लच्कामा चेकजाँचका क्रममा लागुऔषधसहित एउटा मोटरसाइकल बरामद गरेको छ। प्रहरीका अनुसार रामपुरबाट लालबजारतर्फ जाँदै गरेको बा.६२ प १८२० नम्बरको मोटरसाइकल प्रहरीलाई देखेपछि चालक मोटरसाइकल छाडेर फरार भएका थिए।
शंका लागेर मोटरसाइकल जाँच गर्ने क्रममा लुकाइछिपाइ राखिएको २ दशमलव ७२० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ, नाट्राजेपाम २० ट्याब्लेट र ट्रामाडोल १ हजार ५ सय १० क्याप्सुल बरामद भएको प्रहरीले जनाएको छ मोटरसाइकल छाडेर फरार भएका चालक तथा संलग्न व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ। दुवै घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।






