उदयपुर, २०८३ भदौ २० गते।  उदयपुरमा २०औँ मानव बेचबिखन तथा ओसारपसार विरुद्धको राष्ट्रिय दिवसको अवसरमा प्रभातफेरी र सचेतनामूलक कार्यक्रमको आयोजना गरिएको छ। जिल्ला प्रशासन कार्यालय उदयपुरको आयोजना तथा सरोकारवाला निकायहरूको सहकार्यमा ‘प्रविधिको सही प्रयोग र सजगता, मानव बेचबिखनरहित राष्ट्र निर्माणमा ऐक्यबद्धता’ भन्ने मूल नाराका साथ प्रभातफेरी ¥याली आयोजना गरिएको हो।
प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्रातीको प्रमुख आतिथ्यतामा त्रियुगा नगरपालिका–११ स्थित पिपलचोकबाट सुरु भएको ¥याली मेनचोक, टेम्पो स्टेण्ड, बैङ्क लाइन, बीपी चोक हुँदै पुनः पिपलचोकमा पुगेर समापन गरिएको थियो। ¥यालीमा जिल्ला सुरक्षा समितिका प्रमुखहरू, विभिन्न सरोकारवाला संघ–संस्थाका प्रतिनिधि, पत्रकार, स्थानीयवासी तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाका सुरक्षाकर्मीसहित करिब १५० जनाको सहभागिता रहेको थियो। ¥यालीको समापनका क्रममा प्रमुख जिल्ला अधिकारी मग्रातीले मानव बेचबिखन तथा ओसारपसारमुक्त, सुरक्षित, मर्यादित र न्यायपूर्ण समाज निर्माणका लागि सबै पक्षको सक्रिय सहभागिता र ऐक्यबद्धता आवश्यक रहेको बताउनुभयो। प्रविधिको बढ्दो प्रयोगसँगै मानव बेचबिखन तथा ओसारपसारका नयाँ स्वरूप र जोखिमसमेत बढ्न सक्ने भएकाले प्रविधिको सही प्रयोगसँगै सबै सचेत र सजग हुनुपर्नेमा उहाँले जोड दिनुभयो। कार्यक्रममा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध सामूहिक प्रतिबद्धतासहित हस्ताक्षरसमेत गरिएको थियो।
यसै अवसरमा त्रियुगा नगरपालिका–१२ मा स्थानीय जनप्रतिनिधि तथा सरोकारवाला संघ–संस्थाका प्रमुख एवं प्रतिनिधिसहित करिब ५० जनाको सहभागितामा मानव बेचबिखनविरुद्ध सचेतनामूलक अन्तरक्रिया कार्यक्रमसमेत गरिएको छ। अन्तरक्रिया कार्यक्रममा प्रहरी निरीक्षक बिपेश कुमार देवले मानव बेचबिखन तथा ओसारपसारका नयाँ स्वरूप, प्रविधिको दुरुपयोगबाट हुन सक्ने जोखिम तथा त्यसबाट बच्ने उपायका विषयमा प्रस्तुतीकरणसहित सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा सचेतनामूलक पर्चासमेत वितरण गरिएको थियो।