उपन्यास ‘जीवनको गीत’ पुस्तक चर्चा

0
5

रेडियो उदयपुर, माघ १८ । उदयपुरमा उपन्यास ‘जीवनको गीत’ को पुस्तक चर्चा कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। महिलावादी गायक तथा लेखक मधु गुरुङद्वारा लिखित उक्त उपन्यासबारे कार्यक्रममा विस्तृत रूपमा चर्चा गरिएको हो। ओरेक नेपाल र महिला सशक्तीकरण स्रोत केन्द्र (WERC) को संयुक्त आयोजनामा भएको कार्यक्रममा उपन्यासको विषयवस्तु, सन्देश र सामाजिक महत्वबारे छलफल गरिएको थियो। कार्यक्रममा पुस्तकको चर्चा गर्न तीन जना वक्ता सहभागी हुनुहुन्थ्यो। जसमा महिला सशक्तीकरण स्रोत केन्द्रका कार्यकारी निर्देशक बन्दना दनुवार, चौदण्डीगढी नगरपालिकाको महिला विकास शाखा प्रमुख बबिता परियार तथा जेन्जी पुस्ताको प्रतिनिधित्व गर्दै रञ्जु चौधरी वक्ताका रूपमा उपस्थित हुनुहुन्थ्यो।
वक्ताहरूले उपन्यासले महिलाको जीवन, निरन्तर संघर्ष, अन्याय र उत्पीडनको यथार्थ चित्रण गरेको उल्लेख गर्नुभयो। विशेष गरी उपन्यासको प्रमुख महिला पात्र ‘सानी’ मार्फत महिलाले भोग्नुपर्ने सामाजिक विभेद, पारिवारिक दबाब र जीवनका कठिन मोडहरूलाई सशक्त रूपमा प्रस्तुत गरिएको छ । सानी पात्र महिलाको धैर्य, आत्मविश्वास र संघर्षशील चेतनाको प्रतीकका रूपमा उभिएको छिन् ।
उपन्यासमा लेखकका व्यक्तिगत अनुभव र समाजका पीडित समुदायको आवाजलाई साहित्यको माध्यमबाट उजागर गरिएको छ । गुरुङद्वारा लिखित यस उपन्यासमा जीवनको भागदौड, संघर्ष र चुनौतीहरूका बीच पनि हार नमान्ने मानवीय दृढताको कथा प्रस्तुत गरिएको छ। कुनै पनि कठिन परिस्थितिले मानिसलाई विचलित बनाउन सकेन भने, दृढ निश्चय र स्पष्ट लक्ष्यका साथ अघि बढ्दा ढिलो–चाँडो सफलता हासिल गर्न सकिन्छ भन्ने सशक्त सन्देश उपन्यासले दिएको छ।  लेखक गुरुङले उपन्यासका धेरै ठाउँमा आफ्नै जीवन कथाका अंशहरू पनि समेटिएको बताउनुभएको छ। मानिसभित्र आत्मविश्वास, साहस र सकारात्मक सोच भएमा असम्भव जस्तो देखिने परिस्थितिलाई समेत सम्भव बनाउन सकिन्छ भन्ने प्रेरणादायी भाव कृतिको मूल सारका रूपमा प्रस्तुत गरिएको छ।
गुरुङको गीत र साहित्यिक सिर्जनाहरूले महिलाले भोग्दै आएका पीडा, दमन र विभेदलाई गहिरोसँग उजागर गर्छन्। ‘हामि बेग हौं’, ‘बाउको बोली साङ्लो जस्तो’, ‘दाइको बोली हतकडी’ जस्ता गीतहरूमा महिलाको जीवनलाई बाँध्ने पारिवारिक, सामाजिक र सांस्कृतिक दबमजबहरूको चित्रण गरिएको छ भने ‘यो धरती यो आकाश आधा हिस्सा हाम्रौ हो’ जस्ता गीतले महिलाको समान अधिकार र अस्तित्वको आवाज बुलन्द रूपमा उठाएको छ। गीत र साहित्य दुवैमार्फत लेखक तथा गाएक मधु गुरुङले महिलालाई मौन बस्न होइन, आफ्नो हक, पहिचान र अधिकारका लागि बोल्न र अघि बढ्न प्रेरित गर्नुभएको छ।