चुनावी एजेन्डामा महिला र कृषकका सवाल समेट्नुपर्ने महिलाहरूको माग

0
7

रेडियो उदयपुर, माघ १७ ।  निर्वाचनमा महिलाको सहभागिता र सवाल विषयक छलफल कार्यक्रम सुक्रबार सम्पन्न भएको छ। ओरेक नेपाल र महिला सशक्तीकरण स्रोत केन्द्र (WERC) को संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा आगामी निर्वाचनका एजेन्डामा महिला तथा कृषकका सवाल अनिवार्य रूपमा समेटिनुपर्ने माग गरिएको छ। कार्यक्रममा महिलाको राजनीतिक सहभागिता, मताधिकारको महत्व, राजनीति बुझ्नुको आवश्यकता तथा राज्यको नीति निर्माण प्रक्रियामा महिलाको भूमिकाबारे छलफल गरिएको थियो। सहभागी महिलाहरूले आगामी निर्वाचनमा महिला र कृषकका मुद्दालाई प्राथमिकतामा राख्ने उम्मेदवारलाई मात्रै भोट दिनुपर्ने सुझाव दिएका छन्।
कार्यक्रममा महिला मानव अधिकारकर्मी तथा राजनीतिक विश्लेषक डा. रेणु अधिकारीले हालको निर्वाचनमा महिला उम्मेदवार अत्यन्तै न्यून रहेको बताउँदै राजनीतिक दलहरूले महिलालाई निर्णायक तहमा स्थान नदिँदासम्म समावेशी लोकतन्त्र सम्भव नहुने स्पष्ट पार्नुभयो। उहाँले महिला अधिकार, समान प्रतिनिधित्व र महिलाको आवाजको सम्मान गर्ने नेतृत्व तथा राजनीतिक शक्तिलाई मात्र समर्थन गर्नुपर्ने समय आएको बताउनुभयो। डा. अधिकारीले लोकतन्त्र सुदृढीकरणका लागि मतदान अनिवार्य भए पनि सोचविचार नगरी भोट हाल्नु उचित नहुने उल्लेख गर्दै सबै नागरिकलाई सचेत भएर मतदान गर्न आग्रह गर्नुभयो। उहाँका अनुसार यो निर्वाचन भविष्यको नीति निर्माणका लागि अत्यन्त महत्त्वपूर्ण छ।
त्यसैगरी ओरेक नेपालका कार्यकारी निर्देशक सुनिता मैनालीले देश अहिले इतिहासकै कठिन मोडमा पुगेको बताउँदै धेरै संघर्ष गरेर प्राप्त गरिएको लोकतन्त्र कमजोर हुने वा खोसिन सक्ने खतरा रहेको उल्लेख गर्नुभयो। उहाँले सबै नागरिकलाई आफ्नो अमूल्य मत सचेत रूपमा प्रयोग गर्न आग्रह गर्नुभयो।
कार्यक्रममा बोल्दै अधिकारकर्मी कमला खड्काले राजनीतिमा महिलाको सहभागिता भए पनि अहिलेको निर्वाचनमा महिलालाई पर्याप्त अवसर नदिइएको बताउनुभयो। उहाँका अनुसार महिलाले राजनीतिमा केही गर्न सक्दैनन् भन्ने गलत सोचका कारण महिलाहरू अवसरबाट वञ्चित हुँदै आएका छन्। कार्यक्रममा स्थानीय महिलाहरू, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा टोल विकास संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।