रेडियो उदयपुर, २०८२ भदौ २५ गते, बुधबार । जिल्ला प्रशासन कार्यालय उदयपुरले देशभरि हालै घटेका घटनाक्रमलाई मध्यनजर गर्दै शान्ति र सुरक्षा कायम राख्न सबैमा ध्यान दिन आग्रह गरेको छ। प्रशासनले नागरिकहरूलाई व्यक्तिगत तथा सामूहिक सुरक्षाको पालना गर्न आह्वान गर्दै अत्यावश्यक सेवा बाहेक अन्य काममा तत्काल संलग्न नहुन सुझाव दिएको छ। निषेधाज्ञा र कफ्र्यूको पालना गरेर शान्ति कायम गर्न सबैलाई अनुरोध गरिएको छ। जारी सूचनामा भदौ २५ गते बेलुकि ५ बजे सम्म देशभर निषेधाज्ञा रहेको र २६ गते बिहान ६ बजेसम्म कफर्यू लागु हुनेछ । निषेधाज्ञा अवधिमा सर्वसाधारणको भीडभाड, सभा, जुलुस, पदयात्रा, धर्ना, नाराबाजी, तोडफोड, आगजनीलगायत गतिविधि पूर्णरूपमा प्रतिबन्धित गरिएको छ । तर, अत्यावश्यक सेवा सञ्चालनका लागि प्रयोग हुने खाद्यान्न, स्वास्थ्य तथा सुरक्षासम्बन्धी सवारीसाधन भने सन्चालन गर्न पाईने छ । अन्य अवस्थामा नागरिकलाई सुरक्षाकर्मीको संयोजनमा मात्र गतिविधि सञ्चालन गर्न पाइने प्रशासनले जनाएको छ । जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा आदेश उल्लंघन गर्नेहरूलाई कानुनी कारबाही गरिने चेतावनी दिँदै, सबैलाई शान्ति, सुरक्षा र कानुनको पालना गर्न आग्रह गरेको छ ।