यौन तथा प्रजनन स्वास्थ्य शिक्षामा खुला संवाद र समान सहभागिता आवश्यक

उदयपुर, असार १९ ।  किशोर–किशोरीको यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकारसम्बन्धी साझा बुझाइ विकास गर्ने, विद्यमान चुनौतीहरूको पहिचान गरी समाधानका लागि सामूहिक पहल गर्ने उद्देश्यले उदयपुरमा संवाद कार्यक्रम सम्पन्न भएको छ। महिला सशक्तीकरण स्रोत केन्द्रको आयोजनामा होटल कोहबरमा सम्पन्न कार्यक्रममा त्रियुगा नगरपालिकाभित्रका १५ वटा विद्यालयका शिक्षक शिक्षिका,युवा महिला सञ्जालमा आबद्ध किशोरीहरू तथा सरकारी एवं गैरसरकारी संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी सही जानकारी, सेवा पहुँच, विद्यमान चुनौती तथा समाधानका उपायबारे छलफल गरिएको थियो।
छलफलका क्रममा अधिकांश किशोर–किशोरीले यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी जानकारी मोबाइल, इन्टरनेट, सामाजिक सञ्जाल, साथीभाइ तथा पुस्तकबाट प्राप्त गर्ने गरेको बताएका थिए। शिक्षकहरूले विद्यालयमा सेनिटरी प्याडको व्यवस्था भए पनि विगतमा किशोरीहरू लाज र संकोचका कारण, पुरुष शिक्षकको उपस्थितिमा प्याड माग्न हिच्किचाउने गरेको बताए। अहिले भने उनीहरू आवश्यक पर्दा निर्धक्क भएर प्याड लिन आउने, आफ्ना स्वास्थ्यसम्बन्धी समस्या खुला रूपमा राख्ने र सम्बन्धित विषयमा छलफल गर्न थालेको बताए। तर केही विद्यालय तथा समुदायमा अझै पनि महिनावारी र यौन तथा प्रजनन स्वास्थ्यका विषयमा खुलेर बोल्न संकोच मान्ने गरेको सहभागीहरूले बताएका थिए।
केही विद्यालयका शिक्षकहरूले किशोरीहरूमा अचानक चिच्याउने, कराउने, शरीर काम्ने तथा बेहोस हुने समस्या देखिने गरेको उल्लेख गर्दै कतिपय अभिभावकले यस्ता घटनालाई ‘माता आएको’ भन्दै धामी–झाँक्रीको सहारा लिने गरेको बताए। ओसीएमसीका मनोसामाजिक परामर्शकर्ता सरस्वती पौडेलले यस्ता समस्या अत्यधिक मानसिक तनाव, डर, चिन्ता र भावनात्मक दबाबका कारण देखिन सक्ने बताउँदै सुरक्षित वातावरणमा राखी परामर्श प्रदान गर्न तथा आवश्यक परे स्वास्थ्यकर्मी वा मानसिक स्वास्थ्य विशेषज्ञको सहयोग लिनुपर्ने सुझाव दिनुभयो। कार्यक्रममा पाठ्यक्रम प्रभावकारी नहुनु, परिवारमा खुला संवादको अभाव, यौन तथा प्रजनन स्वास्थ्यका विषयमा शिक्षक र विद्यार्थी दुवै खुल्न नसक्नु तथा राज्यको प्राथमिकता पर्याप्त नहुनु प्रमुख चुनौतीका रूपमा औँल्याइयो। सहभागीहरूले यस्तो शिक्षा किशोरीमा मात्र सीमित नगरी किशोरलाई पनि समान रूपमा समेट्नुपर्ने सुझाव दिएका थिए।
स्वास्थ्य कार्यालय उदयपुरकी अधिकृत रिना चौधरीले यौन तथा प्रजनन स्वास्थ्य अधिकारको कार्यान्वयन तथा उपलब्ध सेवाबारे सहजीकरण गर्दै पछिल्लो समय एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) मा आउने घटनाको संख्या बढ्दै गएको बताउनुभयो। उहाँले यौन तथा प्रजनन स्वास्थ्यका विषयमा खुला छलफल बढ्दै गए पनि लाज, डर र हिच्किचाहटका कारण धेरै किशोर–किशोरी र अभिभावक अझै आवश्यक स्वास्थ्य सेवा लिन संकोच गर्ने गरेको उल्लेख गर्नुभयो।
महिला सशक्तीकरण स्रोत केन्द्रका कार्यकारी निर्देशक बन्दना दनुवारले यौन तथा प्रजनन स्वास्थ्य अधिकार मानव अधिकारको अभिन्न अंग भएको बताउँदै प्रत्येक किशोर–किशोरीलाई सही सूचना, सुरक्षा, समानता, गोपनीयता र आफ्ना अधिकारबारे जानकारी प्राप्त गर्ने अधिकार सुनिश्चित हुनुपर्ने बताउनुभयो । उहाँले नियन्त्रण भन्दा विश्वास, खुला संवाद र सकारात्मक निगरानीमार्फत सुरक्षित वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो।
यूएनएफपीएका राजकिशोर साफीले विभेद, अन्धविश्वास र कुसंस्कार अन्त्य गर्न सामाजिक सोचमा परिवर्तन आवश्यक रहेको बताउँदै महिलाको स्वास्थ्य, सम्मान र अधिकारको संरक्षणमा पुरुषको समान सहभागिता र जिम्मेवारी अपरिहार्य रहेको धारणा राख्नुभयो कार्यक्रमको अन्त्यमा सहभागीहरूले घरपरिवारमा यौन तथा प्रजनन स्वास्थ्यका विषयमा खुला संवाद बढाउने, सही जानकारी आदानप्रदान गर्ने, विद्यालयमा किशोर–किशोरीमैत्री वातावरण निर्माण गर्ने तथा आवश्यक पर्दा स्वास्थ्य सेवा लिन नहिच्किचाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

oplus_1024