श्रीपुरमा रहेको मयुर वनः आन्तरिक पर्यटनको केन्द्र बन्दै

0
12

उर्मिला दनुवार, रेडियो उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका –५, श्रीपुरमा रहेको सरस्वति सामुदायिक वनमा पर्ने मयुर वनलाइ चरा अवलोकन मार्ग र प्रकृति अध्ययनका लागि विकास गर्ने योजना बनाइएको छ । यसलाई आन्तरिक पर्यटनको केन्द्रका रूपमा समेत विकास गर्ने लक्ष्य राखिएको छ। प्राकृतिक सौन्दर्य र धार्मिक महत्व बोकेको मयुर बन करिब १० हेक्टर क्षेत्रफलमा फैलिएको छ । वन संरक्षणलाई प्राथमिकता दिँदै मयुर वनको चारैतिर तारजाली लगाएर चरिचरण र घाँस–दाउरा काट्न रोक लगाइएको छ।
मयुर वनभित्र निर्माण गरिएको नाग कुण्ड पोखरीमा वर्षात्को पानी संकलन गरी बन डढेलो नियन्त्रण र सुख्खा समयमा प्रयोग गर्ने व्यवस्था गरिएको छ। सरस्वति सामुदायिक वन का अध्यक्ष दिपक कुमार बान्तवाका अनुसार पोखरीलाई धार्मिक आस्था र प्राकृतिक सौन्दर्यसँगै आन्तरिक पर्यटनको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।
मयुर वनमा मयुरको आकर्षक प्रतिमा निर्माण गरिएको छ, जसले वनको पहिचान र जैविक विविधतालाई उजागर गर्दछ। सरस्वति सामुदायिक वन उपभोक्ता समितीका सदस्य केसब थुलुङ राईका अनुसार मयुर वनमा संसारकै सबैभन्दा ठूलो ढुंगे चुलो पनि राखिएको छ ,जसलाई तीन अस्तित्व—प्रकृति, संस्कृति र मानव सभ्यताको प्रतीकको रूपमा लिइन्छ। उहाँले प्रकृति, संस्कृति र कलाको माध्यमबाट सामुदायिक वनको उपयोग गर्दै मयुर वनलाई पर्यटकीय विकासको अभियानमा अघि बढाइएको बताउनुभयो ।
“मयुर वनमा घण्टी राखिएको छ, जसले धार्मिक र सांस्कृतिक महत्व बोकेको छ । यसले आगन्तुकलाई धार्मिक आस्था अनुभव गराउन मात्र होइन, वनको शान्त र सुन्दर वातावरणमा ध्यान केन्द्रित गर्ने अवसर पनि प्रदान गर्छ।“ अध्यक्ष राईका अनुसार अनुसार मयुर वन अवलोकन गर्न आउने पाहुनालाई धमिराको देवलको टिका लगाएर स्वागत गर्ने चलन पनि रहेको छ।
वन क्षेत्रमा विभिन्न प्रजातिका बिरुवाहरू रोपिएका छन्। विशेषगरी लोप हुँदै गएका बिजयसाल,कुरीलो,क्यमुना जामुन जस्ता बिरुवाहरू बिउ उत्पादन र संरक्षणका लागि रोपिएको छ । जलवायु परिवर्तनका कारण बढ्दो सुख्खा र पानीको अभावलाई मध्यनजर गर्दै जरुवा पानी संरक्षण स्थल निर्माण गरिएको छ ।
वन्यजन्तु र पशुपन्छी भोकै नपरून् भन्ने उद्देश्यले फलफूलका बिरुवासहितको बगैंचा पनि तयार पारिएको छ। आगामी दिनमा काठबाट बुद्ध भगवानको मूर्ति निर्माण गर्ने र त्यस ठाउमा तनाव कम गर्ने ध्यान केन्द्र स्थापना गर्ने योजना रहेको सदस्य केसब थुलुङ राईले जानकारी दिनुभयो।
मयुर वनमा गरिएको संरक्षण, संरचना र पर्यटन प्रवद्र्धनको पहलले समुदाय, प्रकृति र संस्कृतिसँगै अगाडि बढिरहेको उदाहरण प्रस्तुत गरेको छ। जलवायु परिवर्तनका चुनौतीलाई मध्यनजर गर्दै पानी, वन्यजन्तु र वनस्पति संरक्षणसँगै पर्यटकीय विकासलाई सँगै अघि बढाइएको छ। यस क्षेत्रका धार्मिक, सांस्कृतिक र प्राकृतिक मूल्यहरूको संरक्षण गर्दै विकास गरिएको मयुर वनले आन्तरिक पर्यटकलाई आकर्षित गर्नुका साथै समुदायको सक्रिय सहभागिता र संरक्षणका उपायसँगै उदयपुरको महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुने विश्वास गरिएको छ।