१५० एम्पुल प्रतिबन्धित लागू औषधसहित एक जना पक्राउ

0
10

रेडियो उदयपुर, माघ १२ गते सोमबार । त्रियुगा नगरपालिका–६ लालपत्ता चोकमा सवारी साधन चेकजाँचका क्रममा प्रहरीले १५० एम्पुल प्रतिबन्धित लागू औषधसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार आईतबार दिउँसो करिब ३ बजे प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले लहानबाट गाईघाटतर्फ आउँदै गरेको बा ९५ प ६२९१ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा उक्त लागू औषध बरामद गरेको हो । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–११ निवासी २६ वर्षीय सविन राई रहेका छन्। उनको साथबाट डाइजेपाम ५० एम्पुल, फेनारगन ५० एम्पुल र बुप्रिनोर्फिन ५० एम्पुल गरी जम्मा १५० एम्पुल प्रतिबन्धित लागू औषध तथा २ थान सिरिन्ज बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका राईलाई जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।