घर–घरमा खानेपानी पुगेपछि स्थानीयवासी खुसी

0
10

उर्मिला दनुवार, उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका–८ भलायडाँडामा ४९ घरधुरीमा घर–घरमा खानेपानी पुगेपछि स्थानीयवासीमा खुसी छाएको छ। वर्षौँदेखि एक गाग्री पानीका लागि घण्टौँ हिँडेर खोल्साबाट पानी बोकेर ल्याउनुपर्ने बाध्यता खेप्दै आएका यहाँका बासिन्दाले अब आफ्नै घरआँगनमै सफा खानेपानी पाउन थालेका छन्।
पहिले बिहानदेखि साँझसम्म पानी ल्याउनमै समय बित्ने गरेको भन्दै स्थानीय अस माया बिकले घरमै पानी आउनु सपनाजस्तै भएको बताइन्। “पहिला एक गाग्री पानी ल्याउन पनि धेरै दुःख हुन्थ्यो, अहिले घरमै पानी आएपछि धेरै सजिलो भएको छ,” उनले भनिन्।
यसअघि भलायडाँडामा देखिएको खानेपानी समस्यालाई रेडियो उदयपुरमा प्रसारण हुने “जलवायु चासो” रेडियो कार्यक्रममार्फत उजागर गरिएको थियो। कार्यक्रम प्रसारणपछि उदयपुरगढी गाउँपालिकाले चासो दिँदै खानेपानी पु¥याउने पहल थालेको हो। समस्या समाधानका लागि उदयपुरगढी गाउँपालिकाका उपाध्यक्ष जित बहादुर खड्का र वडा नम्बर ८ का वडा अध्यक्ष थिर बहादुर राउतले सीमित बजेटबाट करिब डेढ सय मिटर खानेपानीको पाइप सहयोग गरेका थिए। बाँकी पाइप बिछ्याउने काम स्थानीयवासीले श्रमदानमार्फत सम्पन्न गरेका हुन्।
खानेपानी उपभोक्ता समितिका अध्यक्ष नेत्र बहादुर राउतका अनुसार पहिले पटक–पटक स्थानीयले माग राख्दा पनि सुनुवाइ हुन सकेको थिएन। “हामी वर्षौँदेखि घर–घरमा पानीको पहुँच नहुँदा धेरै समस्या भोग्दै आएका थियौं। महिलाहरू दिनभरि पानी बोक्न बाध्य हुनुहुन्थ्यो, तर हाम्रो समस्या रेडियो उदयपुरबाट प्रसारण भएपछि सम्बन्धित निकायको ध्यान तानेको थियो। अहिले घरमै पानी आएपछि समय बचत भएको छ, थोरै तरकारी खेती गर्न र गाईबस्तु पाल्न पनि सहज भएको छ। दैनिक जीवन निकै सहज बनेको महसुस भइरहेको उनले बताए।
पानीकै लागि दिनमा ७–८ गाग्री बोकेर ल्याउनुपर्ने बाध्यताले महिलाहरूको दैनिकी निकै कष्टकर थियो। पानी ल्याउन धेरै समय खर्चिनु पर्दा घरमा खाना बनाउन ढिला हुने र छोरा–छोरीलाई समयमा स्कुल पठाउन नसक्ने अवस्था रहेको स्थानीय मेनुका बिक बताउछिन् । ७१ वर्षीया ईशोरी माया मगरले पहिले दिनको २–३ घण्टा लगाएर गाग्रीमा पानी भरेर डोकोमा बोकेर ल्याउनुपर्ने दुःख सम्झिइन्। “अब त्यो दुःख भोग्नु पर्दैन, घरमै पानी आउँदा बुढेसकालमा धेरै राहत मिलेको छ,” उनले सुनाईन् ।
यद्यपि खानेपानी समस्या तत्कालका लागि मात्र समाधान भएको भन्दै दीर्घकालीन व्यवस्थापन आवश्यक रहेको स्थानीय अभियन्ता रमा मगरको भनाइ छ। उनका अनुसार बर्खायाममा पहिरो जाँदा पाइप फुट्ने र बगाउने समस्या दोहोरिरहन्छ।
वडा नम्बर ८ का अध्यक्ष थिर बहादुर राउतका अनुसार पछिल्लो समय पालिकाको तर्फबाट करिब डेढ सय मिटर खानेपानीको पाइप सहयोग गरिएको हो। स्थानीयको श्रमदानबाट अहिले घर–घरमा पानी पुगेको छ, तर यो दीर्घकालीन समाधान होइन, उनले भने, अब जमिनमुनिबाट सुरक्षित रूपमा पम्पिङ प्रणालीमार्फत पानी ल्याउन सकेमा मात्रै समस्या स्थायी रूपमा समाधान हुन्छ।
रेडियो कार्यक्रममार्फत उठाइएको स्थानीय आवाज र त्यसपछि भएको पालिका तथा समुदायको सहकार्यले भलायडाँडाका ४९ घरधुरीमा खानेपानीको पहुँच पु¥याउन सम्भव भएको छ। यसले महिलाको समय बचत, वृद्धवृद्धालाई राहत, सरसफाइ सुधार तथा सानो कृषि र पशुपालनमा सकारात्मक प्रभाव पारेको छ। तर बर्खायाममा पहिरोका कारण पाइपलाइनमा क्षति हुने जोखिम र सडक विस्तारका क्रममा दोहोरिने समस्या अझै कायम छन्। त्यसैले सुरक्षित संरचना निर्माण गर्दै जमिनमुनिबाट पम्पिङ प्रणालीमार्फत पानी ल्याउने दीर्घकालीन योजना कार्यान्वयन गर्नुपर्ने आवश्यकता स्थानीयले औँल्याएका छन्।