रेडियो उदयपुर, पुस २३ । महिला सशक्तिकरण स्रोत केन्द्र (WERC) उदयपुरले आफ्नो स्थापना भएको १८ वर्ष पूरा गर्दै १९औँ वर्षमा प्रवेश गरेको छ । महिला सशक्तिकरण स्रोत केन्द्र एक सामाजिक गैर–नाफामूलक संस्था हो । यस संस्थाले समुदाय तहदेखि महिलाको अनुभवमा केन्द्रित सूचना प्रवाह गर्दै सामाजिक रूपान्तरणका लागि काम गर्दै आएको छ ।
स्थानीय स्तरमा रहेका मुद्दाहरूको पहिचान तथा उठान गर्दै सिमान्तकृत र पछाडि पारिएका महिला तथा युवा महिलाको सशक्तिकरण, साथै हानिकारक परम्परागत मूल्य, मान्यता र अभ्यासहरूको अन्त्य गर्ने लक्ष्यका साथ डा. रेणु अधिकारीको नेतृत्वमा २०६४ साल पुस २३ गते दर्ता भई सञ्चालनमा आएको संस्था आज १९औँ वर्षमा प्रवेश गरेको हो ।महिला अधिकार, समानता र सशक्तिकरणको क्षेत्रमा क्रियाशील यस संस्थाले स्थापना कालदेखि नै महिलाको हक–अधिकार संरक्षण, लैङ्गिक समानता प्रवद्र्धन, नेतृत्व विकास तथा आत्मनिर्भरताका क्षेत्रमा निरन्तर रूपमा काम गर्दै आएको छ । समुदायस्तरमा युवा महिलालाई सचेत, संगठित र सक्षम बनाउने उद्देश्यका साथ विभिन्न तालिम, अभिमुखीकरण, परामर्श तथा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । ग्रामीण तथा पिछडिएका समुदायका महिलालाई प्राथमिकतामा राख्दै उनीहरूको आवाज नीति तथा निर्णय तहसम्म पु¥याउने काममा केन्द्रले सहजीकरण गर्दै आएको छ । समुदाय तहदेखि नै महिलाको अनुभव, आवाज र मुद्दामा केन्द्रित सूचना प्रवाह गर्दै सामाजिक रूपान्तरणका लागि केन्द्रले सक्रिय भूमिका निर्वाह गर्दै आएको महिला सशक्तिकरण स्रोत केन्द्र (WERC) उदयपुरका कार्यकारी निर्देशक बन्दना दनुवारले बताउनुभयो । उहाँका अनुसार महिलाका ज्ञान, सीप र अनुभवहरू महिला कै अगुवाइमा समुदायमा पु¥याउने उद्देश्यका साथ केन्द्रले युवापुस्ताको क्षमता अभिवृद्धि गर्दै अन्तरपुस्ता नेतृत्व विकासमा समेत जोड दिँदै आएको छ । यसै उद्देश्य अनुरूप महिला सशक्तिकरण स्रोत केन्द्र उदयपुरको पहलमा युवाहरूको नेतृत्व तथा व्यवस्थापनमा सामुदायिक रेडियो ‘रेडियो उदयपुर १०२.४ मेगाहर्ज’ स्थापना भई सञ्चालनमा रहेको छ । उक्त रेडियोले महिलावादी दृष्टिकोणबाट रेडियो सामग्री उत्पादन, वितरण तथा सहजीकरण गर्दै आएको छ । साथै, संस्थाले उदयपुर जिल्लाका आठवटै स्थानीय तह तथा वडा स्तरीय युवा महिला सञ्जाल गठन गरी उमेर नपुगी गरिने विवाह न्यूनिकरण तथा सामाजिक रूपान्तरणका लागि सचेतनामूलक कार्यक्रम, गोष्ठी तथा अभियानहरू निरन्तर रूपमा सञ्चालन गर्दै आएको छ ।





