रेडियो उदयपुर, २०८२ भदौ २७ गते, शुक्रबार । उदयपुरमा आज पनि कफ्र्यु आदेश जारी भएको छ । जिल्ला प्रशासन कार्यालय उदयपुरले बुधबारदेखि लागू गरेको कफ्र्युलाई निरन्तरता दिँदै २७ गते शुक्रबार साँझ ७ बजेदेखि २८ गते शनिबार बिहान ५ बजेसम्मका लागि कफ्र्यु लागू गरिएको प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुईटेलले जानकारी दिनुभयो ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) (क) बमोजिम जारी गरिएको आदेशअनुसार तोकिएका क्षेत्रमा सर्वसाधारणको आवतजावत निषेध गरिएको छ । साथै कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा तथा बैठक गर्न पूर्ण रुपमा रोक लगाइएको छ । हालै जिल्लाका विभिन्न स्थानमा भएको प्रदर्शन, जुलुस तथा हुलदङ्गाका कारण शान्ति सुरक्षामा खलल पुग्ने अवस्था देखिएपछि कफ्र्यु आदेश थप गरिएको हो । कफ्र्यु लागू हुने क्षेत्रहरूमा त्रियुगा, कटारी, चौदण्डीगढी र बेलका नगरपालिकाका विशेष स्थानहरू तोकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । अत्यावश्यक सेवाका सवारी साधन, स्वास्थ्यकर्मी, एम्बुलेन्सको लागि भने कफ्र्यु आदेश लागु हुने छैन ।