त्रियुगा नगरपालिकाको नगरकार्य सम्पादन हाललाई स्थगित

0
21

रेडियो उदयपुर, २०८२ भदौ २५ गते, बुधबार । त्रियुगा नगरपालिकाको नगरकार्य सम्पादन हाललाई स्थगित गरिएको छ । त्रियुगा नगरपालिका, उदयपुरले नगरपालिकाको कार्यालय र मातहतका वडा कार्यालयहरुमा अस्थायी रुपमा सेवा प्रवाह रोकिएको जनाएको हो । मंगलबार जेन्जी प्रदर्शनकारीले नगरपालिका तोडफोड र आगजनी गरेपछि आज नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजकुमार खड्काले एक सूचना जारी गर्दै नगरकार्य सम्पादन स्थगित भएको जानकारी दिनुभएको छ । आन्दोलनकारीहरुले नगरपालिकाको अधिकांश दस्तावेज, कम्प्युटर, प्रिन्टर, इन्टरनेट सेवा, झ्याल–ढोका र कार्यकक्षसमेत तोडफोड गरी आगजनी गरेका थिए । यस कारण कम्प्युटर प्रणाली, इन्टरनेट र कार्यालय सञ्चालनमा आवश्यक उपकरण नष्ट भई सेवाप्रवाह गर्न असम्भव भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले अर्को सूचना प्रकाशित नभएसम्म नगरकार्य सम्पादन स्थगित रहने र यस क्रममा सर्वसाधारणलाई परेको असुविधाप्रति खेद प्रकट गरेको छ ।