रेडियो उदयपुर, २०८२ भदौ २४ गते, मंगलबार । उदयपुरमा जेन्जी आन्दोलन दिउँसोदेखि उग्ररूप लिँदै गएपछि स्थिति तनावपूर्ण बनेको छ । बिहानसम्म शान्तिपूर्ण देखिएको प्रदर्शन दिउँसो करिब २ बजेदेखि आक्रमक बनेपछि सरकारी निकाय, राजनीतिक दलका कार्यालय र निजी घरमा समेत तोडफोड तथा आगजनी भएको हो । प्रदर्शनकारीहरूले जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत, बोक्सेस्थित अन्य सरकारी कार्यालयमा तोडफोड गरेका छन् । त्यस्तै, गाईघाटस्थित त्रियुगा नगरपालिकाको न्यायिक समिति र अन्य शाखामा रहेका कागजात, कुर्सी, टेबललगायतका सामान बाहिर निकालेर आगजनी गरिएको छ । तोडफोडका कारण अधिकांश कार्यालयका ढोका, झ्याल र फर्निचरमा क्षति पुगेको छ ।
जेनजी आन्दोलनकारीले उदयपुरको त्रियुगा नगरपालिकाका मेयर, उपमेयर बसन्त बस्नेत , महेश्री राई र पूर्व मेयर बलदेब चौधरीको घरमा समेत आगजनी गरेको छ । नाराजुलुस गर्दै जाने क्रममा गाईघाट बजारको हिमालीटोलस्थित उपमेयर राईको घरमा आगजनी गरेको हो । त्यहाँको आगजनी नगरपालिकाको दमकलले नियन्त्रणमा लिएको छ । उपमेयरको घरअगाडीको तुलसी सहकारी र गार्डेन मार्ट भवनमासमेत तोडफोड गरेको छ । सरकारविरुद्धको आक्रोश चुलिँदै जाँदा प्रदर्शनकारीहरूले गाईघाटस्थित विपि चोकमा रहेको विपि कोइरालाको शालिक तोडफोड गरेका छन् ।
यतिमात्र नभई, त्रियुगा बसपार्क नजिकै रहेको नेकपा (माओवादी केन्द्र) को कार्यालयमा आगजनी गरिएको छ । त्यस्तै, नेकपा (एमाले) र नेपाली कांग्रेसको जिल्ला कार्यालयमा समेत आगजनी गरिएको छ । अचानक आक्रामक बनेको आन्दोलनलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले सुरक्षाकर्मीलाई उच्च सतर्कतामा रहन निर्देशन दिएको छ । ठूलो संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी टोली परिचालन गरिएको छ । यद्यपि, प्रदर्शनकारी नियन्त्रणबाहिर रहेकाले थप क्षतिको आशंका गरिएको छ । हालसम्म कुनै मानविय क्षति नभए पनि सम्पतिमा ठूलो क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ ।