रेडियो उदयपुर, साउन २८ — अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा मंगलबार उदयपुरमा महिला सशक्तिकरण स्रोत केन्द्रको आयोजनामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। “दिगो विकास र सुनौलो भविष्यको सारः स्थानीय युवा सहभागिता समृद्धिको आधार” भन्ने शीर्षकमा भएको प्रतियोगितामा दनुवार युवा महिला सञ्जाल र थारु युवा महिला सञ्जालका सदस्यहरू सहभागी भएका थिए। वक्ताहरु रक्षा दाहाल, सौरभि दनुवार, निरुसा बिशंखे, रोस्नी चौधरी र अन्जु चौधरीले युवाको एकता, समानता र नेतृत्व विकासको महत्वमा जोड दिएका थिए।
प्रतियोगितामा सहभागी चारै जना वक्ताहरुलाई डायरी र डटपेन प्रदान गरी सम्मान गरिएको थियो। कार्यक्रममा करिब ३० जना युवाको उपस्थिति रहेको थियो।
महिला सशक्तिकरण स्रोत केन्द्रका अध्यक्ष ज्योति दनुवारका अनुसार कार्यक्रममा युवाबीच दिगो विकासको महत्व बुझाउने, आफ्नो समुदायमा नेतृत्व क्षमता र सकारात्मक सोच विकास गर्ने, साथै आत्मविश्वासपूर्वक आफ्ना विचार प्रस्तुत गर्न प्रेरित गर्ने उद्देश्य रहेको बताउनु भयो । उहाले युवाले अवसरको खोजी गर्नुपर्छ र आफै सक्षम भएर आफ्नो अधिकारका लागि आवाज उठाए मात्र प्राप्त हुनेमा जोड दिनु भएको थियो ।
संयुक्त राष्ट्रसंघले युवाका सवाललाई सम्बोधन गर्ने उद्देश्यले सन् १९९९ मा प्रत्येक वर्षको अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेपछि सन् २००० देखि विश्वभर यो दिवस मनाउन थालिएको हो। नेपालमा भने सन् २००४ देखि युवासँग काम गर्ने संस्थाहरूको पहलमा मनाउन सुरु गरिएको हो।
कार्यक्रम महिला सशक्तिकरण स्रोत केन्द्रको आफ्नै भवनमा, अध्यक्ष ज्योति दनुवारको अध्यक्षतामा सम्पन्न भएको हो ।









