मानवीय सहायताको क्षेत्रमा महिलाले नेतृत्व गरेका संस्थाहरु आफ्नो पहिचान दावी गर्दै

0
10

काठमाण्डौ । महिलाले नेतृत्व गरेको संस्थाहरुले राष्ट्रिय स्तरको संवाद गरेको छ । बिहिवार काठमाण्डौमा विद्यमान असमान शक्ति सम्बन्ध र मानविय सहायता क्षेत्रको विश्लेषण (Changing Narrative Shifting Power – Analyzing Humanitarian Response from Women’s Perspective_)“ विषयक राष्ट्रिय स्तरको संवाद सम्पन्न गरेको हो ।
महिला पुनस्थापना केन्द्र (ओरेक), नेपाल महिला एकता समाज र केयर नेपालको संयुक्त आयोजनामा महिलाले नेतृत्व गरेको संस्थाको कामको मान्यता र पहिचान स्थापनाका लागि बहस निर्माण गर्ने तथा मानवीय सहायताकर्मीको परम्परागत भाष्यलाई विश्लेषण गर्दै महिलाले नेतृत्व गरेका संस्थामा शक्ति स्थानान्तरण गर्न सरोकारवालाको जवाफदेहीताको बारेमा बहस निर्माण गर्ने उद्देश्यका साथ कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा ओरेकले महिलाले नेतृत्व गरेका संस्थाहरुको स्रोत माथिको पहुँचका लागि भएको संरचनात्मक अवरोध सम्बन्धि सर्वेक्षण मार्फत संकलन गरिएको तथ्यांक र नतिजाहरुको प्रस्तुतिकरण र यस विषयमा सरोकार राख्ने निकायका विषय विज्ञहरुसँगको प्यानल छलफल सञ्चालन गरिएको थियो ।

सर्वेक्षणबाट आएको नतिजामा महिलाले नेतृत्व गरेका संस्थाहरुले स्रोत माथिको पहुँचका लागि अनलाइन आवेदन, उक्त आवेदनहरुको भषा अड्ड्रेजी भाषा हुने गरेको, झन्झटिलो आवेदन प्रकृया,लैङ्गिक भुमिका तथा जातिय तथा लैङ्गिक विभेद, औपचारिक र संस्थागत विकासमा ’बलिया वा क्षमतावान’ भनिएका संस्थाले मात्र स्रोत पाउने व्यवस्था र साझेदार संस्थाका परम्परागत मापदण्डको कारणले समुदायमा आधारित संस्थाहरुको स्रोत माथिको पहुँचका लागि चुनौती रहेको पाइएको छ ।

यसैगरी, उक्त प्रस्तुतिकरणमा महिला मानवीय सहायताकर्मीको अनुभव तथा परम्परागत ज्ञान नै तथ्याङ्क हो, यद्यपी मानवीय सहायता क्षेत्रमा रहेको असमान शक्तिसम्बन्धका कारणले महिला मानवीय सहायताकर्मी तथा महिलाले नेतृत्व गरेका संस्थाहरुको योगदानको मान्यता तथा पहिचान स्थापित हुन नसकेको यथार्थलाई विभिन्न तथ्य मार्फत प्रस्तुत गरिएको थियो । प्रस्तुतिकरणकै दौरानमा केयर नेपालको तर्फबाट समेत केयर नेपालले स्थानिय संस्थाहरुसँगको सहकार्यमा कसरी समुदायमा आधारित प्रतिकार्य प्रणालीलाई सबलीकरण र समुदायको नेतृत्वमा मानवीय साहयताको उदाहरण स्थापित गरिरहेको छ भन्ने विषयवस्तुहरुको प्रस्तुतिकरण गरिएको थियो ।

प्रस्तुतीकरण पश्चात् राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका उप–सचिव सन्ध्या सिग्देल, सशक्त आवाज महिला संस्था कैलालीका उपाध्यक्ष कृष्णी चौधरी, यु.एन विमेनका सहायक राष्ट्रिय प्रतिनिधी मेहताप टटर, र केयर नेपालका निभा शाक्य वक्ता रहेको प्यानल छलफलमा प्यानलवक्ता कृष्णी चौधरीले आफ्नो संस्थाले मानवीय सहायताका लागि समुदायको आवश्यकताको आधारमा मानव अधिकारमुखी दृष्टिकोणबाट काम गरिरहेको, यद्यपि आफुहरुले गरेको कामका मान्यता र मूल्याङ्कन नभएको तितो तथ्य उजागर गर्दै मुलधारमा रहेका संस्थाहरुले प्रभावित क्षेत्रको अनुगमन र राहत वितरण गर्दा उद्दारकर्मीको रुपमा मान्यता पाएको यथार्थलाई जोड दिनु भएको थियो।

यसैगरी, अन्य वक्ताहरुले महिलाले नेतृत्व गरेका संस्था र महिलाको सवाललाई प्रोटेक्सन क्लस्टर भित्र मात्र सिमित गरिएको, क्लस्टर प्रणाली आफैंमा कठिन र सबैको पहुँचमा नभएको, सुचना तथा स्रोतमाथि समुदायमा पहुँच नभएको, मानवीय सहायताको समन्वय संयन्त्रहरु संरचनात्मक रुपमा नै पितृसत्तात्मक रुपमा खडा गरिएकाले महिलाहरुले आफ्नो नेतृत्व दावी गर्नका लागि चुनौती भएको बताउनु भएको थियो।

यसैगरी, नेपाल सरकारको विपदसँग सम्बन्धित संयन्त्रहरुमा महिलाको सहभगीताका लागि नीतिगत रुपमा नै खाडल रहेको र महिलाको सहभागिता बाध्यकारी नबनाइएको कारणले गर्दा उक्त संयन्त्रहरुमा महिला सहभागीता नगन्य मात्रामा रहेको बताउनु भएको थियो ।

प्यानल छलफल पश्चात भएको खुला छलफलका सहभागीहरुले महिलाले नेतृत्व गरेका संस्थाहरुको स्रोतमा पहुँच सुनिश्चितताका लागि आवेदन प्रकृयालाई सहज र पहुँचयोग्य बनाई स्रोतको वास्तविक अर्थमा स्थानियकरण गरिनुपर्ने, विपद् पुर्व तयारीको रुपमा महिलाले नेतृत्व गरेका संस्थाहरुको संस्थागत क्षमता विकासमा काम गर्नुपर्ने, मानवीय सहायतामा कार्य गर्ने समुदायमा आधारित संस्थाहरुको नक्साङ्कन गरिनुपर्ने, मानवीय सहायताको क्षेत्रमा भएको प्राविधिक खाडल (Digital Divide) न्युनिकरणमा कार्य गर्नु पर्ने विषयमा आफ्ना विचार राखेका थिए ।

कार्यक्रमको अन्त्यमा महिलाको श्रम तथा परम्परागत ज्ञानलाई मान्यता नदिइनु, महिला मानवीय सहायताकर्मीलाई मानवीय सहायताकर्मीको रुपमा गणना नगरिनु, महिलाले नेतृत्व गरेका संस्थाको आर्थिक लगायत अन्य स्रोतमा पहुँच नहुनु जस्ता सामाजिक संरचनात्मक मुद्दा रहेको र यसका कारण महिलाहरुको पहिचान, कामको मान्यता र मानवीय सहायताको क्षेत्रमा नेतृत्व सबलीकरणका लागि संयुक्त अभियान तथा तथ्यमा आधारित नीतिगत पैरवी आवश्यक रहेको विषयमा साझा धारणा बनेको थियो र जसका लागि महिला मानवीय सहायताकर्मीको अनुभव र ज्ञान नै तथ्य हो भन्ने सवालमा समेत जोड दिइएको थियो ।

कार्यक्रममा नेपाल महिला एकता समाजका कार्यकारी निर्देशक भगवती अधिकारीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो भने ओरेकका कार्यक्रम संयोजक प्रभा पौड्यालले ओरेकद्धारा गरिएको सर्वेक्षणको नतिजा प्रस्तुतीकरण गर्नुभएको थियो । साथै, विषय विज्ञसँगको प्यानल छलफलको सहजिकरण ओरेकका कार्यकारी निर्देशक सुनिता मैनालीले गर्नुभएको थियो ।