उदयपुर । कोरोना संक्रमणको दोस्रो लहर बढ्दै गएको र स्थानीय प्रशासनहरुले समेत निषेधाज्ञा जारी गरेपछि उदयपुर र सुनसरीबीच भएर बग्ने सप्तकोशी नदीमा संचालिन जेट बोटकाे सञ्चालन बन्द भएको छ ।
जलयातायात मार्फत सप्ताकोशी नदीमा आन्तरिक तथा बाह्य यात्रुहरुलाई सेवा दिंदै आएका जेट बोटहरु अनिश्चित कालका लागि बन्द भएका हुन ।
जेट बाेट संचालन गर्दा कोरोना भाइरस संक्रमण झनै तीव्र रुपमा फैलन सक्ने भन्दै संचालकहरुले प्रशासनको आग्रहमा जेट बाेटकाे संचालन बन्द गरेका हुन ।
सप्तकोशीमा बराहक्षेत्र जल यातायत तथा पर्यटन सेवा प्रालि, नेपाल रिभर ट्रान्सपोर्ट प्रालि, बराहक्षेत्र मरिन एण्ड रिर्सोट्स प्रालि र सप्तकोशी टुरिजम एण्ड वाटर ट्रान्सपोर्टेशन प्रालिका गरी ७ वटा पानीजहाज दैनिक रुपमा सञ्चालन हुँदै आएका थिए ।
उदयपुरको बेलका नगरपालिका ७ र सुनसरीको बराहक्षेत्र नगरपालिका १ चतराबाट सप्तकोशी नदीबाट स्थानीय, आन्तरिक र बाह्रय पर्यटकहरु जल विहारको आनन्द लिंदै आएका छन ।
जेट बोटको जलमार्गले उदयपुर, भोजपुर र धनकुटाको सीमाना सिम्मेसम्म छोएको छ ।