उदयपुर । महिला तथा बालिकामाथि हुने हिंसा, विभेद र दुव्र्यवहार अन्त्य गर्ने उद्देश्यसहित उदयपुरमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ। अभियानको पहिलो दिन बुधबार गाईघाटमा प्रभातफेरी निकालिनुका साथै बालविवाहविरुद्ध सडक नाटक प्रदर्शन गरिएको छ।नोभेम्बर २५ देखि डिसेम्बर १० अर्थात् मङ्सिर ९ देखि २४ गतेसम्म सञ्चालन हुने अभियानले महिला तथा बालिकामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्न जनचेतना अभिवृद्धि गर्ने, पीडितको संरक्षण गर्ने र न्यायमा पहुँच सुनिश्चित गर्ने लक्ष्य राखेको छ। यस वर्षको अन्तर्राष्ट्रिय नारा ‘महिला तथा बालिकाविरुद्धको हिंसा अन्त्य गर्न एकजुट बनौँ ः पीडितको संरक्षण, न्याय सुनिश्चितता र दण्डहीनताको अन्त्य गरौँ’ रहेको छ। त्यस्तै, राष्ट्रिय नारा ‘लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता ः पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ तय गरिएको छ।कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कोशी प्रदेशसभा उपसभामुख सृजना दनुवारले महिला तथा बालिकामाथि हुने हिंसा, विभेद र दुव्र्यवहार अन्त्य गर्न कानुनी प्रयाससँगै सामाजिक चेतना र व्यवहारमा परिवर्तन आवश्यक रहेको बताउनुभयो। उहाँले हिंसाका घटना न्यूनीकरण गर्न परिवार, समुदाय, स्थानीय तह र सम्बन्धित निकाय सबै जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिनुभयो।साथै, हिंसा प्रभावितको संरक्षण, न्यायमा सहज पहुँच र हिंसामा संलग्नलाई कानुनी दायरामा ल्याउँदै दण्डहीनताको अन्त्य गर्न सबै पक्षबीच सामूहिक प्रतिबद्धता र सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो। यसैबीच, महिला सशक्तीकरण स्रोत केन्द्र र कायाकल्प उदयपुरको समन्वयमा बालविवाहविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘बालविवाह हुन्न नि’ शीर्षकको सडक नाटक प्रदर्शन गरिएको थियो।त्रियुगा नगरपालिका, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय उदयपुरको समन्वय तथा ओरेक उदयपुर, महिला सशक्तीकरण स्रोत केन्द्र उदयपुर, हुरेन्डेक उदयपुर, डब्लुएचआरडी उदयपुर, जाल्पा एकीकृत विकास समाज, पेसोक नेपाल, मासबेस उदयपुर, मानव अधिकार एलाइन्स, इन्सेक उदयपुर, वल्र्ड भिजन इन्टरनेसनल नेपाललगायत विभिन्न सरकारी र गैरसरकारी संघसंस्थाको आयोजनामा कार्यक्रम सन्चालन भएको हो। कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधि, सरोकारवाला, युवा महिला सञ्जालका प्रतिनिधि तथा पत्रकारहरूको उपस्थिति रहेको थियो।