उदयपुर । उदयपुरमा ब्राउन सुगरजस्तो देखिने प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार त्रियुगा नगरपालिका–८ राजावासस्थित साहीखोलामा मोटरसाइकल चेकजाँच गर्ने क्रममा सोही वडाका ३० वर्षीय रुपेश दनुवार पक्राउ परेका हुन्। विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय, अस्थायी प्रहरी पोस्ट बसपार्क र चुहाडेबाट खटिएको प्रहरी टोलीले मंगलबार राति करिब साढे ९ बजे दनुवारले चलाएको मोटरसाइकल जाँच गर्ने क्रममा उनको साथबाट २६ ग्राम ९०० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद गरेको हो। प्रहरीले उनको साथबाट नाइट्राभेट २४ ट्याब्लेट, स्पास्मो १८ ट्याब्लेट, डिजिटल तराजु एक थान, नगद ५ हजार १६८ रुपैयाँ र मोबाइल एक थानसमेत बरामद गरेको जनाएको छ। पक्राउ परेका दनुवारलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।