उदयपुर २०८३ असोज २६ । नेपालीहरूको महान् चाड विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको अवसरमा आँपसोता खानेपानी उपभोक्ता समितिले आइतबार शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रममा स्थानीयवासीले खानेपानीको मुहान कमजोर हुँदा भोग्नुपरेको समस्याबारे कोशी प्रदेशका उपसभामुख माननिय सिर्जना दनुवारको ध्यानाकर्षण गराउँदै दीर्घकालीन समाधानका लागि पहल गरिदिन आग्रह गरेका छन्। कार्यक्रममा स्थानीयवासीले खानेपानीको मुहान कमजोर हुँदै जाँदा पर्याप्त पानी उपलब्ध हुन नसकेको समस्या राख्दै यसको दीर्घकालीन समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए।

स्थानीयवासीले उठाएको खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि उपसभामुख दनुवारले मुहानको अवस्था अध्ययन गर्ने र (डीपीआर) तयार गरी आवश्यक बजेटको व्यवस्था गर्न पहल गर्ने बताउनुभएको छ। खानेपानीको समस्या तत्कालका लागि मात्र नभई दीर्घकालीन रूपमा समाधान गर्न आवश्यक रहेको उल्लेख गर्दै उहाँले मुहानको संरक्षण, मर्मतसम्भार र दिगो व्यवस्थापनमा जोड दिनुभएको छ।

खानेपानीको मुहान संरक्षण, आवश्यक मर्मत तथा सुधारका लागि योजनाबद्ध रूपमा अघि बढ्न सके आँपसोता क्षेत्रका स्थानीयवासीले भोग्दै आएको खानेपानी समस्या समाधान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।