उदयपुर २०८३ असोज २६ । उदयपुरका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले १ हजार ४० किलोभन्दा बढी गाँजा बरामद गरेको छ। गाँजा ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरीले गरेको कारबाहीका क्रममा एक जना पक्राउ परेका छन् भने अन्य संलग्न व्यक्तिहरूको खोजी भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार चौदण्डीगढी नगरपालिका–१ चारघरेस्थित रानिटारदेखि बेल्टार जाने भित्री सडकखण्डबाट ९ सय ४० किलो ४ सय ४० ग्राम गाँजा बरामद गरिएको हो। सोमबार बिहान २ बजे गाँजा ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा खटिएको इलाका प्रहरी कार्यालय बेल्टारको टोलीले सडकछेउमा पार्किङ गरी राखिएको बा १४ च २२५५ नम्बरको बोलेरो जिप जाँच गर्ने क्रममा २९ वटा बोरामा राखिएको गाँजा फेला पारेको प्रहरीले जनाएको छ । गाँजासहित बोलेरो जिपसमेत नियन्त्रणमा लिइएको छ। घटनास्थलमा गाँजा फेला परे पनि कुनै व्यक्ति फेला नपरेकाले संलग्न व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।
यसैगरी, कटारी नगरपालिका–६ स्थित साँगुरी पुलनजिकैको जंगलबाट प्रहरीले १ सय किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ। आइतबार राति साढे १० बजे इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले ताप्ली गाउँपालिका–१ का अन्दाजी २२ वर्षीय विश्वराज राईलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार साँगुरीस्थित तीनतलेबाट छिमेकी जिल्ला सिराहातर्फ लैजाँदै गरिएको अवस्थामा पाँचवटा बोरामा राखिएको १ सय किलो गाँजासहित राईलाई नियन्त्रणमा लिइएको हो।
पाँचवटा बोरामा गाँजा फेला परेकाले घटनामा अन्य व्यक्तिहरूको समेत संलग्नता हुन सक्ने आशंकामा प्रहरीले थप अनुसन्धान तथा खोजतलास गरिरहेको छ। पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय कटारीको हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।






