उदयपुर २०८३ असोज १५ । उदयपुर जिल्ला खेलकुद विकास समितिले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि जिल्लास्तरीय खेलाडी छनोट प्रक्रिया सुरु गरेको छ । समितिले बुधबार गाईघाटस्थित आफ्नै कार्यालयमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गर्दै प्रतियोगिताका लागि खेलाडी छनोट सुरु भएको जानकारी दिएको हो ।

कर्णाली प्रदेशको सुर्खेतमा २०८३ मंसिर १६ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि उदयपुरबाट विभिन्न खेलका खेलाडी छनोट गरिने जिल्ला खेलकुद विकास समितिले जनाएको छ । जिल्लाबाट छनोट भएका खेलाडी प्रदेशस्तरीय छनोटमा सहभागी हुने र प्रदेशबाट छनोट भएपछि राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।

जिल्लास्तरीय छनोट प्रतियोगितामा सहभागी हुन इच्छुक सबै खेलका खेलाडीले २०८३ असोज १९ गतेभित्र खेलाडी फारम भरिसक्नुपर्ने समितिले जनाएको छ । जिल्लामा ३२ वटा खेल विधामा खेलाडी छनोट गरिनेछ । जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाशराम राईका अनुसार छनोट प्रक्रियामा ३४४ पुरुष र ३१२ महिला गरी कुल ६५६ जना खेलाडी सहभागी हुनेछन् । सदरमुकाम गाईघाट भएकाले अधिकांश खेलको छनोट प्रतियोगिता गाईघाटमै सञ्चालन गर्ने तयारी गरिएको छ । भौगोलिक तथा खेलको प्रकृतिअनुसार केही खेलको छनोट भने सदरमुकामबाहिर सञ्चालन गरिने समितिले जनाएको छ ।

समितिका अध्यक्ष धिरज खड्काले स्थानीय तहहरूले खेलाडी छनोट तथा खेलकुद गतिविधिमा अपेक्षाअनुसार चासो नदिएको गुनासो गर्नुभयो । उहाँले स्थानीय तहबाट खेलाडी तथा खेल क्षेत्रको विकासमा थप सहयोग र सहकार्य आवश्यक रहेको बताउनुभयो । समितिले जिल्लाका सबै स्थानीय तह, खेलाडी तथा खेलसँग सम्बन्धित निकायलाई छनोट प्रक्रियामा सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ ।