आत्महत्या रोकथाम तथा न्यूनीकरणमा युवाको भूमिका विषयक अभिमुखीकरण

0
2

उदयपुर, असार ४ गते ।  उदयपुरमा ‘आत्महत्याको अवस्था, रोकथाम र न्यूनीकरणका लागि युवा तथा सरोकारवालाहरूको भूमिका’ विषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। गैसस महासंघको आयोजना, कोशी प्रदेश सरकारको आर्थिक सहयोग तथा त्रियुगा नगरपालिकाको समन्वयमा आयोजित कार्यक्रम त्रियुगा नगरपालिका–११ स्थित होटल हिमालय रिसोर्टमा सम्पन्न भएको हो। कार्यक्रममा कोशी प्रदेशकका उपसभामुख माननीय सिर्जना दनुवारले  यस्ता कार्यक्रमले युवामाझ बढ्दो आत्महत्या दर न्यूनीकरण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले गैसस महासंघले विगतदेखि नै आत्महत्या रोकथाम तथा मानसिक स्वास्थ्य प्रवद्र्धनका क्षेत्रमा निरन्तर काम गर्दै आएको उल्लेख गर्दै यस्ता अभियानलाई अझ प्रभावकारी बनाउन सबै पक्षबीच सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो। कार्यक्रममा ओरेक उदयपुरका संयोजक बाला कार्कीले जिल्लामा आत्महत्याको वर्तमान अवस्था, त्यसका कारण तथा न्यूनीकरणका लागि आवश्यक पहलका विषयमा प्रस्तुत गर्नु भएको थियो । उहाँले प्रस्तुत गर्नुभएको डाटा अनुसार ‘आत्महत्या र आत्महत्या प्रयास सम्बन्धी चार वर्षको तथ्याङ्क’ अनुसार आर्थिक वर्ष २०७९÷८० देखि २०८२÷८३ को कात्तिक मसान्तसम्म आत्महत्या गर्नेमा १५० महिला र २०५ पुरुष रहेका छन्। यसैगरी, आत्महत्याको प्रयास गर्नेमा २३७ महिला र १४१ पुरुष रहेका छन्। प्रस्तुत तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०÷८१ मा सबैभन्दा बढी ११६ जनाले आत्महत्या गरेका छन्। चालु आर्थिक वर्ष २०८२÷८३ को कात्तिक मसान्तसम्म ४२ जनाले आत्महत्या गरेका छन् भने ५३ जनाले आत्महत्याको प्रयास गरेका छन्। तथ्याङ्कले आत्महत्याका घटनामा पुरुषको संख्या बढी देखिए पनि आत्महत्याको प्रयास गर्नेमा महिलाको संख्या उल्लेख्य रूपमा बढी रहेको देखाएको छ। त्यसैगरी, त्रियुगा नगरपालिकाका उपप्रमुख महेश्वरी राईले आत्महत्या रोकथाम तथा मानसिक स्वास्थ्य प्रवद्र्धनका लागि नगरपालिकाले आवश्यक समन्वय गर्दै यस अभियानलाई निरन्तरता दिन बजेटसमेत विनियोजन गरेको जानकारी दिनुभयो। ओसीएमसीका अम्बिका मगरले मानसिक स्वास्थ्यको महत्त्व, समयमै परामर्श तथा सहयोग लिनुपर्ने आवश्यकता र मानसिक स्वास्थ्य सेवामा पहुँच विस्तारका विषयमा जानकारी दिनु भएको थियो । कार्यक्रममा युवा, विद्यार्थी,प्रहरी,पत्रकार विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।