डिजिटल हिंसा न्यूनीकरणकालागि सचेतना कार्यक्रम

0
2

उदयपुर, जेठ २९ – किशोरी तथा महिलामाथि हुने हिंसा न्यूनीकरण गर्ने उद्देश्यले सञ्चालन गरिएको डिजिटल सुरक्षा अभियानअन्तर्गत शुक्रबार उदयपुरको त्रियुगा नगरपालिका–८ र ९ मा पर्ने शुक्रबारे हटियामा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। महिला सशक्तिकरण स्रोत केन्द्र उदयपुर र ओरेक उदयपुरको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा डिजिटल सुरक्षासम्बन्धी गीति–नाटक प्रदर्शन गरिएको थियो। गीति–नाटकमार्फत इन्टरनेट तथा सामाजिक सञ्जालको प्रयोगका क्रममा अपनाउनुपर्ने सावधानी, डिजिटल माध्यमबाट हुने हिंसा तथा त्यसका असरबारे सन्देश प्रवाह गरिएको थियो। कार्यक्रममा सहभागीहरूलाई डिजिटल माध्यमबाट हुने हिंसाका विभिन्न प्रकार, प्रविधिमा अत्यधिक समय बिताउँदा पर्ने नकारात्मक प्रभाव, डिजिटल हिंसाका कारण व्यक्ति, परिवार तथा समाजमा पर्न सक्ने असर तथा यस्ता हिंसा न्यूनीकरणका लागि अपनाउनुपर्ने उपायहरूबारे जानकारी गराइएको थियो। सहभागीहरूलाई बलियो र सुरक्षित पासवर्ड प्रयोग गर्ने, व्यक्तिगत सूचना गोप्य राख्ने, सामाजिक सञ्जालमा सोचेर मात्र सामग्री पोस्ट गर्ने तथा अनलाइन माध्यमको जिम्मेवार प्रयोग गर्नुपर्ने विषयमा समेत सचेत गराइएको थियो । कार्यक्रममा शुक्रबारे हटियामा किनमेल, व्यापारिक तथा अन्य कामका सिलसिलामा आएका विभिन्न उमेर समूहका महिला, किशोरी तथा स्थानीयवासीहरूको उल्लेख्य सहभागिता रहेको थियो।