उदयपुर,जेठ २८ । उदयपुरको त्रियुगा नगरपालिका–१० करमगाछीस्थित एक घरबाट नगद तथा सुनका गरगहना चोरी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार जेठ २७ गते साँझ करिब ६ः३० बजे स्थानीय अनिल खड्काको घरबाट नगद १ लाख रुपैयाँ र करिब ६ तोला १४.५ आना सुनका विभिन्न गरगहना चोरी भएको सूचना प्राप्त भएपछि प्रहरीले अनुसन्धान थालेको थियो। अनुसन्धानका क्रममा घरको तल्लो तलामा डेरा गरी बस्ने २३ वर्षीया सुस्मिता थापा कटुवाल र नजिकै डेरा गरी बस्ने २८ वर्षीया मिना विकमाथि शंका लागेपछि उनीहरूको कोठामा खानतलासी गरिएको थियो। सो क्रममा सुस्मिताको कोठाबाट चोरी भएको १ लाख रुपैयाँ नगद, नौगेडी, मंगलसूत्र, चन्द्रमा, औँठी, पञ्चरत्न बाला र सिक्रीलगायत सुनका गरगहना तथा चोरीको रकमबाट खरिद गरिएको इन्फिनिक्स मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ। त्यसैगरी मिना विकको डेरा नजिकै आँपको रुखको फेदमा लुकाइराखिएको अवस्थामा ६३ हजार रुपैयाँ नगद, भिभो मोबाइल, चार्जर र इयरपड फेला पारेर बरामद गरिएको छ। चोरी भएका बाँकी गरगहनाहरू अवैध रूपमा खरिद गरेको आरोपमा गाईघाट बजारस्थित बराह ज्वेलर्स का सञ्चालक ३९ वर्षीया यशोदा विकलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।





