नवौं वडा अध्यक्ष नकआउट फुटबल प्रतियोगिता सम्पन्न

0
12

उदयपुर, जेठ २२ — उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ९ स्थित खेल मैदानमा आयोजित नवौं वडा अध्यक्ष नकआउट फुटबल प्रतियोगिता सम्पन्न भएको छ। झि.डि.ख.डा. युवा क्लब, त्रियुगा नगरपालिका–९ को आयोजना तथा ९ नं.वडा कार्यालयको सहयोगमा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा सखुबनी फुटबल क्लब र गैरुन फुटबल क्लबबीच प्रतिस्पर्धा भएको थियो। निकै प्रतिस्पर्धात्मक बनेको फाइनल खेलमा गैरुन फुटबल क्लबले सखुबनी फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि जित्न सफल भएको हो।
प्रतियोगितामा प्रथम हुने गैरुन फुटबल क्लबले नगद १३ हजार रुपैयाँ, ट्रफी तथा प्रमाणपत्र प्राप्त गरेको छ। विजेता टोलीलाई ९ नं. वडाका वडा अध्यक्ष राजकुमार दनुवारले पुरस्कार वितरण गर्नुभयो। त्यस्तै उपविजेता सखुबनी फुटबल क्लबले नगद ८ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता टोलीलाई झि.डि.ख.डा. युवा क्लबका अध्यक्ष सबिन दनुवारले पुरस्कार प्रदान गर्नुभयो।
व्यक्तिगत विधातर्फ गैरुन फुटबल क्लबका खेलाडी सन्देश दनुवार प्रतियोगिताभर ८ गोल गर्दै सर्वाधिक गोलकर्ताको उपाधि जित्न सफल भएका छन्। उनले नगद ५०० रुपैयाँ, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन्। त्यसैगरी सखुबनी फुटबल क्लबका गोलरक्षक आसिस दनुवार उत्कृष्ट गोलरक्षक घोषित भएका छन्। उनलाई नगद ५०० रुपैयाँ, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको छ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी सखुबनी फुटबल क्लबका कार्लस दनुवार घोषित भएका छन्। उनले पनि नगद ५०० रुपैयाँ, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन्। जेठ १३ गतेदेखि सुरु भएको प्रतियोगिता जेठ २२ गते सम्पन्न भएको हो।
”स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नारासहित आयोजना गरिएको प्रतियोगिताले युवाहरूमा खेलकुदप्रतिको रुचि बढाउनुका साथै अनुशासन, नेतृत्व क्षमता, आपसी सद्भाव र स्वस्थ जीवनशैली प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ।