बर्खेडाँडामा आगलागी हुँदा १२ लाख रुपैयाँ बराबरको क्षति

0
9

उदयपुर, जेठ १९ — उदयपुरको चौदण्डीगढी नगरपालिका–४ बर्खेडाँडामा सोमबार अपराह्न आगलागी हुँदा एक घर र फर्निचर पसलमा गरी करिब १२ लाख रुपैयाँ बराबरको क्षति भएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार सोमबार अपराह्न करिब ४ः३० बजे बविना राईको दुईतले घरमा आगलागी भएको हो। आगो घरको भुइँतलामा रमेश राईले भाडामा सञ्चालन गर्दै आएको फर्निचर पसलमा समेत फैलिएको थियो।
आगलागीबाट बविना राईको घर तथा घरभित्रका सामग्रीमा करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ। त्यसैगरी रमेश राईको फर्निचर पसलमा रहेका फर्निचर सामग्री, नगद २० हजार रुपैयाँ र चाँदीका सामग्री गरी करिब २ लाख रुपैयाँ बराबरको क्षति भएको छ। आगलागीबाट कुल १२ लाख रुपैयाँ बराबरको भौतिक क्षति भएको अनुमान गरिएको छ। घटनामा कुनै मानवीय तथा चौपाया क्षति भने नभएको प्रहरीले जनाएको छ।
आगलागीको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेल्टार र प्रहरी चौकी बसाहाबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरी, स्थानीय बासिन्दा तथा चौदण्डीगढी नगरपालिकाको दमकलको संयुक्त प्रयासमा साँझ ५ः२० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो। आगलागीको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।