उदयपुर, जेठ १९ — उदयपुरको त्रियुगा नगरपालिका–११ पिपलचोकस्थित होटल ड्रिमलेण्डमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले होटलको तेस्रो तलामा छापा मारेर उनीहरूलाई तास खेलिरहेकै अवस्थामा नियन्त्रणमा लिएको हो । प्रहरीले घटनास्थलबाट नगद ५७ हजार ६२५ रुपैयाँ, ३ बुङ तास, ६ थान मोबाइल फोन तथा ४ थान मोटरसाइकल बरामद गरेको जनाएको छ । पक्राउ पर्नेहरूमा त्रियुगा नगरपालिका–११ का ४७ वर्षीय भलराज राई, ४५ वर्षीय चिनबहादुर राई, ४६ वर्षीय बोधबहादुर थापा मगर, ३८ वर्षीय विजय भनिने विपिन राई, ३० वर्षीय सञ्जीव बुढाथोकी तथा ४९ वर्षीय पूर्णबहादुर राई रहेका छन्। पक्राउ परेका सबैलाई बरामद सामग्रीसहित जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





