उदयपुर,११ जेठ । उदयपुरको कटारी नगरपालिका–२ गिद्वबरस्थित भित्री सडक खण्डमा गुडिरहेको स्कुल बसबाट खस्दा एक सह–चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार सोमबार बिहान करिब ९ बजे सौगात एकेडेमी बोर्डिङ स्कुलको लुम्बिनी प्रदेश ०१–००१ ख ०९८५ नम्बरको स्कुल बस विद्यार्थी लिन कटारी–१ बेलसोततर्फ जाँदै गरेको अवस्थामा सह–चालक कटारी नगरपालिका–२ निवासी ३१ वर्षीय उत्तम थापा अचानक बसको ढोकाबाट खसेका थिए । बसबाट खस्दा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेका थापालाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल कटारी लगिएको थियो । उपचारकै क्रममा बिहान ९ः५५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ । घटनापछि बस र बस चालक कटारी नगरपालिका–२ निवासी ४८ वर्षीय छत्रबहादुर कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । मृतकको शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी प्रादेशिक अस्पताल कटारीको शवगृहमा राखिएको प्रहरीले जनाएको छ ।





