उदयपुरमा सशस्त्र प्रहरी युनिटको निरीक्षण,अपराध नियन्त्रणमा सक्रिय हुन निर्देशन

0
3
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82

उदयपुर,२०८३ वैशाख ३० ।  उदयपुरमा सशस्त्र प्रहरी बलका विभिन्न युनिटहरूको अनुगमन तथा निरीक्षण गरिएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह बाहिनी मुख्यालयका बाहिनीपति मनीष थापा ले उदयपुर जिल्लास्थित सशस्त्र प्रहरी बलका युनिटहरूको निरीक्षण गर्दै शान्ति सुरक्षा सुदृढ बनाउन र अपराध नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिनुभएको हो । निरीक्षणका क्रममा उहाँले विपद् व्यवस्थापन, सवारी दुर्घटना न्यूनीकरण तथा आपराधिक गतिविधि नियन्त्रणका लागि उपलब्ध स्रोत साधनको अधिकतम परिचालन गर्न मातहतका कर्मचारीलाई निर्देशन दिनुभयो । फिल्डमा खटिने सुरक्षाकर्मीहरू सक्रिय, जिम्मेवार र परिणाममुखी ढंगले काम गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो । बाहिनीपति थापाले पछिल्लो समय बढ्दै गएको लागुऔषध दुव्र्यसन, अवैध ओसारपसार तथा अन्य आपराधिक गतिविधिप्रति संवेदनशील बन्न आग्रह गर्दै त्यस्ता गतिविधिविरुद्ध कडा रूपमा प्रस्तुत हुन निर्देशन दिनुभयो । समाजमा अशान्ति फैलाउने जो–कोहीलाई कानुनी दायरामा ल्याई कारबाही प्रक्रिया अघि बढाउन पनि उहाँले सचेत गराउनुभयो । नागरिकको सुरक्षा राज्य र संगठनको पहिलो प्राथमिकता भएको उल्लेख गर्दै उहाँले जनताको विश्वास जित्ने गरी काम गर्नुपर्ने बताउनुभयो । साथै सुरक्षाकर्मीलाई अनुशासित, पारदर्शी र जनमैत्री व्यवहार प्रदर्शन गर्दै संगठनको गरिमा उच्च राख्न आग्रह गर्नुभयो । कार्यक्रममा जिल्लास्थित युनिट प्रमुखहरूले आफ्नो क्षेत्रको सुरक्षा अवस्था, चुनौती तथा भइरहेका गतिविधिबारे जानकारी गराएका थिए । त्यस अवसरमा सीमा सुरक्षा, राजमार्ग सुरक्षा, विपद् उद्धार तयारी तथा सामुदायिक समन्वयलाई थप प्रभावकारी बनाउन सुझाव दिइएको थियो । सशस्त्र प्रहरी बल नं. ५ गण हेक्वा त्रियुगा उदयपुरका सशस्त्र प्रहरी उपरीक्षक श्याममणी ढकाल ले बाहिनीपतिबाट भएको निर्देशनले जिल्लाको सुरक्षा व्यवस्थालाई अझ प्रभावकारी बनाउन सहयोग पुग्ने बताउनुभयो ।