युवाहरूको एकै स्वर : विभेदमुक्त समाज र भ्रष्टाचारमुक्त सरकार

0
15

उर्मिला दनुवार
उदयपुर, २४ वैशाख २०८३ ।
विभेदमुक्त समाज र भ्रष्टाचारमुक्त सरकारको माग गर्दै युवाहरू एकजुट भएका छन् । सुशासन, पारदर्शिता र समान अवसर सुनिश्चित गर्न राज्यले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिँदै युवाहरूले सामाजिक विभेद, भ्रष्टाचार तथा अन्यायविरुद्ध एकै स्वरमा आवाज उठाएका हुन् । महिला सशक्तिकरण स्रोत केन्द्र, उदयपुरद्वारा आयोजित युवा बहस कार्यक्रममा सहभागी युवाहरूले विभेदरहित समाज निर्माणसँगै जवाफदेही र पारदर्शी शासन प्रणाली कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याए । उनीहरूले सुशासन, उत्तरदायित्व र नागरिकमैत्री सेवाप्रवाहलाई प्रभावकारी बनाउन स्थानीय तह तथा सरोकारवाला निकाय थप जिम्मेवार बन्नुपर्नेमा जोड दिएका हुन् ।
कार्यक्रममा युवाहरूले पछिल्लो समय लागुऔषध दुव्र्यसन गम्भीर सामाजिक समस्याका रूपमा बढ्दै गएको उल्लेख गर्दै विशेषगरी विद्यार्थीहरू यसको बढी जोखिममा परेको बताएका छन् । उनीहरूले विद्यालय, अभिभावक र स्थानीय तहको समन्वयमा प्रभावकारी सचेतना तथा नियन्त्रण अभियान सञ्चालन गर्न आवश्यक रहेको धारणा राखेका थिए । त्यसैगरी, पर्याप्त रोजगारीको अवसर नहुँदा धेरै युवा विदेश पलायन हुन बाध्य भएको उल्लेख गर्दै उनीहरूले देशमै रोजगारी सिर्जना गर्ने दीर्घकालीन तथा व्यवहारिक नीति आवश्यक रहेको बताए । यस्तै, बेलका नगरपालिकाका किसानहरूले समयमै मल नपाउने समस्या उठाउँदै कृषि सामग्रीको सहज र नियमित आपूर्ति सुनिश्चित गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । किसानहरूले भोग्दै आएको समस्या समाधान गरी आगामी दिनमा मल तथा कृषि सामग्री समयमै उपलब्ध गराउनुपर्नेमा सहभागीहरूले जोड दिएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै चौदण्डीगढी नगरपालिकाका मेयर कालु लामाले युवाहरूका सुझाव र मागहरूलाई आगामी नीति, कार्यक्रम तथा बजेटमा समावेश गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । त्यसैगरी उहाले युवाहरूलाई रोजगारीमुखी बनाउन नगरपालिकाले विभिन्न सीपमूलक तालिम सञ्चालन गर्दै आएको बताउनु भयो । युवालाई आत्मनिर्भर बनाउने उद्देश्यले वडास्तरमै पुगेर विद्युत् वायरिङ, एसी मर्मत, मोटरसाइकल मर्मत, सिलाइ–कटाइ तथा ब्युटिसियनसम्बन्धी तालिमहरू सञ्चालन गरिएको बताउनु भयो । इच्छुक युवाहरूलाई अझै थप तालिम उपलब्ध गराउन नगरपालिका तयार रहेको र सीप हासिल गरेका युवाहरूलाई आवश्यक सहयोग गर्न नगरपालिका प्रतिबद्ध रहेकोसमेत स्पष्ट पार्नु भयो ।
त्यसैगरी बेलका नगरपालिकाका उपमेयर जिरा राईले युवामैत्री नीति, योजना तथा निर्णय प्रक्रियामा युवाको सक्रिय सहभागिता अनिवार्य रहेको बताउनुभएको छ। उहाँले युवाहरूले उठाएका सरोकारका विषयप्रति सहमति जनाउँदै समस्या समाधानका लागि स्थानीय सरकार, सरोकारवाला निकाय र युवाहरू सबै मिलेर अघि बढ्नुपर्ने धारणा राख्नुभयो। उहाले बहसमा उठेका युवाहरूको सुझाव र मागहरूलाई आगामी नीति, कार्यक्रम तथा बजेटमा समावेश गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
त्यसैगरी कार्यक्रममा युएनएफपिएका राजकिशोर साफिले नगरपालिकाका गतिविधिहरूको अनुगमन र निगरानी गर्ने मुख्य भूमिका युवाहरूको पनि रहेको बताउदै नगरपालिकाको रातो किताब वेबसाइट तथा अन्य सार्वजनिक सूचनामार्फत कामहरु भए नभएको जानकारी सजिलै लिन सकिने र त्यसका आधारमा युवाहरूले स्थानीय सरकारलाई जवाफदेही बनाउँदै आवश्यक खबरदारी गर्नुपर्ने बताउनुभयो। उहाँले सूचनामा पहुँच बढाउँदै पारदर्शिता सुनिश्चित गर्न सके मात्र सुशासन बलियो हुने भन्दै युवाहरूलाई सक्रिय रूपमा निगरानी र सहभागितामा जोड दिन आग्रह गर्नुभयो।
महिला सशक्तिकरण स्रोत केन्द्रका कार्यकारी निर्देशक बन्दना दनुवारले पछिल्लो समय व्यापार–व्यवसाय, शिक्षा, स्वास्थ्य, निजामती सेवा तथा राजनीतिमा युवाहरूको सहभागिता र नेतृत्व बढ्दै गएको बताउनुभयो। तर कुलत तथा सामाजिक अपराधमा पनि युवाहरूको संलग्नता बढ्दै गएकाले युवाहरू सकारात्मक र नकारात्मक दुवै दिशामा अघि बढिरहेको पनि उहाले बताउनु भयो । त्यसका लागि युवाहरूलाई सकारात्मक मार्ग रोज्दै समाजका विकृति र विसंगतिविरुद्ध अभियानकर्ताका रूपमा अघि बढ्न आग्रह गर्नु भयो ।
महिला सशक्तिकरण स्रोत केन्द्र उदयपुरले विगत १८ वर्षदेखि निरन्तर रूपमा महिला अधिकार, नेतृत्व विकास तथा युवामुखी कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। केन्द्रले महिलाहरूले मात्रै सञ्चालन गर्ने ‘रेडियो उदयपुर’मार्फत विभिन्न सचेतनामूलक कार्यक्रम प्रसारण गर्दै आइरहेको छ। केन्द्रले विशेषगरी किशोरी, युवा महिला तथा समुदायका महिलाहरूलाई लक्षित गरी नेतृत्व विकासका कार्यक्रम सञ्चालन गर्दै आएको छ। साथै, बालविवाह विरुद्ध सचेतनामूलक अभियान, यौन तथा प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी कार्यक्रम तथा युवाहरूको अधिकारका विषयमा समेत सक्रिय रूपमा काम गर्दै आएको छ। युवा भविष्यका कर्णधार मात्र होइनन्, वर्तमानका साझेदार पनि हुन भन्ने मूल नारासहित सञ्चालन गरिएको उक्त कार्यक्रम वैशाख २१ गते चौदण्डीगढी नगरपालिकामा र २२ गते बेलका नगरपालिकामा सम्पन्न गरिएको हो ।