समावेशी र पहुँचयोग्य निर्वाचनको लागि बृहत अभियान सुरु

0
40

काठमाडौँ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आसन्न प्रतिनिधी सभा निर्वाचनलाई समावेशी र पहुँचयुक्त बनाउने र सुसुचित निर्णयको लागि जनचेतना अभिबृद्धी गर्ने उद्देश्यका साथ जनचेतनामुलक एवं प्रचारात्मक सामग्री प्रसारणको शुरुवात गरेको छ । गत आइतबार निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम शुरू गरेसँगै मन्त्रालयले महिला, बालबालिका, जेष्ठ नागरिक र अन्य सीमान्तकृत वर्ग तथा समुदायलाई लक्षित गरेर विभिन्न १० वटा स्थानीय भाषामा समावेशीकरण प्रबर्धन र अधिकारको जानकारी सहित शिक्षा तथा सन्देशमुलक सामग्रीहरू तयार पारी प्रसारण तथा प्रचारप्रसारको काम थालेको छ । सोमबार काठमाडौंमा सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै महिला, बालबालिका र जेष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले मन्त्रालय महिला, बालबालिका तथा जेष्ठ नागरिकसहित नागरिकहरूलाई स्वतन्त्र र भयरहीत वातावरणमा सूसुचित भएर मतदान गर्न पाउने अधिकार सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताउनुभयो । मन्त्रालयका अनुसार नेपालीसहित मैथिली, भोजपुरी, अवधी, तामाङ्ग, नेवारी, राई लगायतका भाषामा शिक्षा र जानकारीमुलक सामग्रीहरूको प्रचारप्रसार थालिसकेको छ ।
चुनावमा प्रत्यक्षतर्फ ११ प्रतिशत मात्रै महिला उम्मेदवार मैदानमा रहेको उल्लेख गर्दै उहाँले आगामी दिनमा यस्तो अवस्था सुधार गर्न सबै पक्षको प्रतिबद्धता आवश्यक रहेकोमा जोड दिनुभयो । निर्वाचनमा महिला मतदाताको सहभागी बढाउनका लागि मन्त्रालयले विशेष अभियान चलाउने बताउनुभएको छ । सातै प्रदेशको निर्वाचन तयारीका बारेमा जानकारी लिँदा चुनावमा महिला सहभागिता, अपाङ्गतामैत्री र पहुँचयोग्य मतदानस्थलको सुनिश्चितताका लागि मन्त्रालयले सरोकारवालासँग समन्वय गरिरहेको पनि उहाँको भनाइ थियो । उहाँले निर्वाचनको क्रममा बालकालिको दुरुपयोग रोक्न समेत सबैपक्षले जिम्मेवार भएर काम गर्नुपर्ने बताउनुभयो । बालबालिकाको संरक्षण र बालअधिकार सुनिश्चित गर्न सरकार, नागरिक समाज र अभिभावक सहित सबै पक्षले एकसाथ काम गर्नुपर्नेमा समेत जोड दिनुभयो ।