रेडियो उदयपुर, माघ ५ सोमबार । “कृषि, वन, पर्यटन, शिक्षा, कला, संस्कृति, उद्योग ,व्यापार ः उदयपुरको पहिचान, समृद्धिको आधार” भन्ने मूल नारासहित दोस्रो उदयपुर महोत्सव २०८२ आयोजना हुने भएको छ । महोत्सव २०८२ माघ २३ गतेदेखि फागुन ८ गतेसम्म गाईघाटस्थित त्रियुगा नगरपालिका–३ को त्रियुगा नदी किनारमा सञ्चालन हुनेछ।
जिल्ला उद्योग वाणिज्य संघ, उदयपुरको आयोजनामा हुने महोत्सवले उदयपुर जिल्लासहित कोशी प्रदेशका किसान, उद्योगी, व्यवसायी, महिला तथा युवा उद्यमीका उत्पादनलाई एउटै थलोमा प्रदर्शन, प्रवद्र्धन र बजारीकरण गर्ने लक्ष्य लिएको आयोजकले जनाएको छ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष गजेन्द्र भगवतले महोत्सव मनोरञ्जनमा सीमित नरही उदयपुरको आर्थिक, सामाजिक र सांस्कृतिक पहिचान मजबुत बनाउने अभियान भएको बताउनु भयो । उहाले स्थानीय उत्पादनको खपत वृद्धि, रोजगारी सिर्जना तथा निजी क्षेत्र र स्थानीय सरकारबीच सहकार्य विस्तार गर्ने उद्देश्य महोत्सवको मुख्य लक्ष्य रहेको स्पष्ट पार्नुभयो ।
१५ दिनसम्म सञ्चालन हुने महोत्सवमा करिब २०० वटा स्टल रहनेछन्। कृषि तथा घरेलु उद्योग, होटल तथा अटोमोबाइल, महिला तथा युवा उद्यमी, पर्यटन प्रवद्र्धन कक्ष, शैक्षिक सामग्री तथा पुस्तक प्रदर्शनीका साथै स्थानीय र जातीय खानाका परिकार समावेश गरिनेछ। महोत्सव अवधिभर दैनिक करिब २० हजार दर्शक सहभागी हुने अनुमान गरिएको छ।
महोत्सवका आकर्षणमा टिन डान्स ट्यालेन्ट शो, सुपर ममी डान्स प्रतियोगिता, ताजमहल र लण्डन ब्रिजको झल्को दिने सेल्फी पार्क, अत्याधुनिक बाल उद्यान, जलपरी मनोरञ्जन तथा स्थानीयदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय कलाकारका सांस्कृतिक प्रस्तुति रहनेछन्। बलिउड गायक विनोद राठोडको प्रस्तुति पनि समावेश गरिने आयोजकले जनाएको छ।
सामाजिक उत्तरदायित्वअन्तर्गत न्यूरो अस्पताल विराटनगरको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिनेछ। साथै सीसी क्यामेरा, स्वयंसेवक परिचालन, २४ सै घण्टा सुरक्षा गार्ड, एम्बुलेन्स, स्वास्थ्य सेवा, बीमा सुविधा तथा निःशुल्क वाइफाइको व्यवस्था गरिएको छ।
प्रवेश शुल्क सर्वसाधारणका लागि १५० रुपैयाँ र विद्यार्थीका लागि १०० रुपैयाँ तोकिएको छ। जेष्ठ नागरिक तथा पूर्ण अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। विशेष सांस्कृतिक तथा अन्तर्राष्ट्रिय कलाकारको प्रस्तुति हुने दिन टिकट दर फरक हुने जानकारी आयोजकले दिएको छ।





