रेडियो उदयपुर, माघ ५ गते सोमबार । उदयपुरमा आईतबार भएको सवारी दुर्घटनाका मृतक दुवै जनाको सनाखत भएको छ। ज्यान गुमाउनेहरूमा चालक सर्लाहीका ४२ वर्षीय रणबहादुर माझी र सहचालक सिन्धुलीका ४४ वर्षीय जयबहादुर माझी रहेका जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाउको छ । सोमबार बिहान आफन्तजन आएपछि शवको पोस्टमार्टम प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। मृतकका आफन्तसमेत रहेकी मरिण गाउँपालिका उपाध्यक्ष विमला माझीसहितको आफन्तजन आएपछि जिल्ला अस्पताल उदयपुरमा राखिएको शव सनाखत गरी पोस्टमार्टम प्रक्रिया अघि बढाइएको हो। उपाध्यक्ष माझीका अनुसार मृतकहरू नातामा साढु भाइ साढु दाइ हुन्। नातेदार उनीहरू एउटै गाडीमा चालक र सहचालकको रूपमा काम गर्ने गरेको खुलेको छ। आइतबार दिउँसो साढे तीन बजे मदन भण्डारी लोक मार्ग अन्तर्गत गाईघाट कटारी खण्डमा पर्ने उदयपुरगढी गाउँपालिका ७ अँधेरीमा दुर्घटनामा परि उनीहरूको ज्यान गएको थियो। कटारीबाट गाईघाटतर्फ आउँदै गरेको बागमती प्रदेश ०६–०१ ख ०५०५ नं।को ट्रक आफै अनियन्त्रित भई सडकबाट ५० मिटर तल अँधेरी खोलामा खस्दा गम्भीर घाइते भएका चालक र सहचालकलाई उपचारार्थ अस्पताल लगिएकोमा बेलुका सवा पाँच बजेतिर चिकित्सकले मृत घोषित गरेको थियो।





