उदयपुर, २६ भदौ । उदयपुरमा प्रहरीले १०१ किलो ६ सय ४० ग्राम प्रतिबन्धित लागुऔषध गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ। हिजो साँझ करिब ५ बजे प्रहरी चौकी लालपत्ताबाट खटिएको टोलीले त्रियुगा नगरपालिका–६ स्थित लालपत्ता चेकपोस्टमा सवारीसाधन जाँच गर्ने क्रममा गाँजा बरामद गरेको हो।

गाईघाटबाट कदमाहातर्फ जाँदै गरेको ना.१ ज ८५०९ नम्बरको विङ्गरबाट तीन जना मानिससहित ६० किलो ९ सय ३० ग्राम र को.१ ज ३३१२ नम्बरको विङ्गरबाट दुई जना पुरुषसहित ४० किलो ७ सय १० ग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा सिरहाको लहान नगरपालिका क्षेत्रका चार जना पुरुष र एक जना महिला रहेका छन्।

उनीहरूले गाँजा लुकाइछिपाइ ओसारपसार गरिरहेको अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका पाँचै जनालाई जिल्ला अदालत उदयपुरबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।