उदयपुर २४ भदौ । नेपाल पत्रकार महासंघ उदयपुर जिल्ला शाखाका संस्थापक सचिव तथा पत्रकार बद्रीप्रसाद काफ्लेको बुधबार बिहान निधन भएको छ। गाईघाटस्थित समता टोलमा रहेको आफ्नै निवासमा उहाँको निधन भएको हो।
काफ्लेको निधनप्रति नेपाल पत्रकार महासंघले दुःख व्यक्त गर्दै शोक वक्तव्य जारी गरेको छ। उहाँ २०४९ सालमा नेपाल पत्रकार महासंघ उदयपुर शाखा गठन हुँदा संस्थापक सचिवको जिम्मेवारीमा रहनुभएको थियो।
काफ्लेले तत्कालीन समयमा ‘त्रियुगा अर्धसाप्ताहिक’ नामक पत्रिका प्रकाशन गर्दै पत्रकारितामा योगदान पु¥याउनुभएको थियो। उहाँ विगत एक वर्षदेखि गम्भीर बिरामी भई अचेत अवस्थामा रहनुभएको थियो।
उहाँको निधनले नेपाली पत्रकारिता जगतले सिद्धान्तनिष्ठ तथा व्यावसायिक पत्रकार र नेपाल पत्रकार महासंघले सक्रिय अभिभावक गुमाएको महासंघले जनाएको छ। स्वर्गीय काफ्लेको श्रीमती, दुई छोरा र दुई छोरी छन्।
नेपाल पत्रकार महासंघ उदयपुर शाखाका सचिव तुलसीप्रसाद कोइरालाले जारी गर्नुभएको शोक वक्तव्यमा स्वर्गीय काफ्लेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरिएको छ।






