उदयपुर, भदौ १५ ।  उदयपुरको कटारी नगरपालिका–६ बाँकेटारस्थित शान्तिवन जंगलबाट प्रहरीले १ हजार १२२ दशमलव ६७ किलो प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरेको छ। गाँजा ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले मंगलबार बिहान करिब ४ बजे शान्तिवन जंगलमा खोजतलास गर्ने क्रममा बा १६ च ५२६९ नम्बरको बोलेरो र जंगलमा लुकाइछिपाइ राखिएको अवस्थामा ५२ बोरा गाँजा फेला पारेको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेमा ताप्ली गाउँपालिका–१ डाँडागाउँका करिब ५५ वर्षीय रामबहादुर मगर, २१ वर्षीय नेकबहादुर मगर र ४६ वर्षीय पृथ्वीराज मगर रहेका छन्।

बरामद गाँजा, बोलेरो र नियन्त्रणमा लिइएका तीनै जनालाई इलाका प्रहरी कार्यालय कटारीमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।