उदयपुर, भदौ ८ गते । उदयपुरको बेलका नगरपालिका–५ जहडामा अटो र स्कुल बस एकआपसमा ठोक्किँदा अटोमा सवार दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
सोमबार बिहान करिब ९ः४५ बजे सुपाडेबाट लालबजारतर्फ आउँदै गरेको को.प्र.०५–००१ ह ०६१३ नम्बरको अटो र विपरीत दिशाबाट जाँदै गरेको को.१ ख ३५१६ नम्बरको सफल आदर्श इङ्लिस बोर्डिङ स्कुलको बस एकआपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा अटोमा सवार पाँच जना घाइते भएका थिए। उनीहरूलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोपा धरान लगिएकोमा उपचारका क्रममा बेलका नगरपालिका–५ की ३४ वर्षीया मन्दिरा मगर र नामथर तथा ठेगाना नखुलेकी एक महिलाको मृत्यु भएको हो। दुवैलाई अस्पतालका चिकित्सकले बिहान करिब ११ः४५ बजे मृत घोषणा गरेका थिए।
दुर्घटनामा अटो चालक बेलका नगरपालिका–५ का २८ वर्षीय इन्द्र थापा र सोही स्थानका १८ वर्षीय रोशन मगर गम्भीर घाइते भएका छन्। मोरङको विराटनगर महानगरपालिका–१२ का १९ वर्षीय अजित गुरुङको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। तीनै जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।
घटनापछि इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरी टोलीले दुर्घटनामा संलग्न बस र चालक बेलका नगरपालिका–५ का ३६ वर्षीय बिक्रम थापालाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


